काठमाण्डौ । तोकिएको समय वार्षिक साधारणसभा (एजीएम) र लेखापरीक्षण नगर्ने १० वटा सहकारी संस्थाको इजाजत ललितपुर महानगरपालिकाले खारेज गरेको छ। 

ललितपुर महानगरले आज एक सूचना जारी गर्दै आफूमातहतका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरिएको जानकारी दिएको हो। सहकारी ऐन, २०७५ बमोजिम ५ वर्षभन्दा बढी अवधिदेखि लेखापरीक्षण नगरेको, एजीएम नडाकेको र विवरण नबुझाएको ती सहकारी संस्थाको इजाजत खारेज गरिएको सूचनामा उल्लेख छ। 

यसअघि ललितपुर महानगरले गत असार १५ मा एक सूचना निकाल्दै ३५ दिनभित्र ती सहकारीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो। तर तोकिएको समयमा सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले गत माघ २९ को बैठकले ती सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको सूचनामा जनाइएको छ। 

खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले निर्देशन दिएको छ। अबउप्रान्त ती संस्थाहरुका नामबाट कुनै पनि कारोबार नगर्न र नगराउन पनि महानगरले आग्रह गरेको छ। 

यी हुन् खारेजीमा परेका सहकारी

  • महिला सीप विकास बहुउद्देश्यीय सहकारी संस्था
  • बडीखेल पर्यटन सहकारी संस्था
  • प्रयास बहुउद्देश्यीय सहकारी संस्था
  • एभरग्रीन बचत तथा ऋण सहकारी संस्था
  • कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था
  • पारपीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था
  • राजवृक्ष जडीबुटी सहकारी संस्था
  • एभरेष्ट कृषि सहकारी संस्था
  • रातो सूर्य सूचना तथा सञ्चार सहकारी संस्था
  • भृगेश्वर उपभोक्ता सहकारी संस्था