गत फागुनको दोस्रो सातादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक कारोबार रकम र परिसूचक दुवैमा क्रमशः गिरावट आउने क्रम जारी नै छ। आखिर नेप्सेले किन आफ्नो बाटो परिवर्तन गर्यो त ? के बजारमा साँच्चिकै  बियरिस प्रवृत्ति सुरु भएकै हो वा स्वाभाविक करेक्सनमात्र हो भन्ने (खासगरी नवप्रवेशी) लगानीकर्ताहरुले जिज्ञासा राख्ने गरेका छन्। 

यिनै जिज्ञासाको कसरी सम्बोधन हुन सक्छ भन्ने सवालमा हामीले केही तथ्य नजिक पुग्ने प्रयास गरेका छौँ। जसमा बजारलाई प्रभावित पार्ने सानाठूला थुप्रै कारणका बाबजुद मुख्य ४ कारणलाई बजार घट्नुमा प्रमुख जिम्मेवार ठहर गरी चर्चा गर्ने कोसिस गरेका छौँ। तिनलाई बुँदागत रुपमा चर्चा गरौँ।

१. स्वाभाविक करेक्सन

हुन त हामी सवै लगानीकर्ताका लागि आफ्नो पोर्टफोलियो दैनिकजसो वृद्धि भइरहँदा निकै आनन्द आइरहेको हुन्छ र त्यो स्वाभाविकै पनि हो। तर तपाइँ हामीले चाहेजस्तो आनन्द बजारले सधैँ दिइरहन सक्दैन। किनकि बजारको पनि आफ्नै किसिमको चक्र छ, नियम छन् र विभिन्न कारण छन्। तीमध्ये एउटा कारण हो, लगातारको वृद्धिपछिको सामान्य र स्वाभाविक करेक्सन। खासगरी लकडाउनपछि खुलेको धितोपत्र बजार सानातिना करेक्सनका बाबजुद छोटै समय करिब ७÷८ महिनाभित्रै ऐतिहासिक बढोत्तरीसहित उच्चतम विन्दु चुम्यो। योसँगै अल्पकालीन लगानीकर्तालाई पर्याप्त नाफा प्राप्त भएसँगै नाफा बुक गर्ने क्रममा मागको तुलनामा आपूर्ति पक्ष हावी भई बजारमा केही गिरावट आएको देखिन्छ। उच्चतम विन्दुबाट करिब १५–२० प्रतिशतको गिरावटलाई बियरिस नभई स्वाभाभिक करेक्सन हो भनेर बुझ्न सकिन्छ।

२. तरलता संकुचनसँगै ब्याजदर वृद्धिको हल्ला

विगत करिब एक महिनायता विभिन्न अनौपचारिक फोरम तथा सञ्चारमाध्यममा तरलता खुम्चिँदै गएको र आगामी दिनमा ब्याजदर पनि वृद्धि हुनसक्ने भन्ने समाचार सम्प्रेषण भइरहेको कुरामा फगत हल्लामात्रै नभई केही हदसम्म सत्यता रहेको कुरा पछिल्लो समय नियामकका रुपमा राष्ट्र बैंकले जारी गरेका तथ्यांकहरु, बैंकर संघको नेतृत्वको स्वीकारोक्ति कतिपय बैंकहरुले प्रकाशित गरेको ब्याजदरसम्बन्धी विवरण र अन्तरबैंक ब्याजदर निरन्तर वृद्धि हुँदै जानुले पनि पुष्टि गरेको अनुमान गर्न सकिन्छ। त्यसले गर्दा खासगरी संस्थागत तथा ठूला लगानीकर्ताले सो कुराको कन्फरमेसनका लागि केही सयय पर्ख र हेरको नीति अख्तियार गरेका हुन सक्छन्। जसको परिणाम कारोबार रकममा आएको गिरावटमा देख्न सक्छौँ। तर आत्तिनुपर्ने अवस्था भने पटक्कै होइन। यसै पनि चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट हुने ए्ेतिहासिक  (करिब ७५० अर्ब रुपैयाँ बढी) कर्जा प्रवाहका साथै आगामी वर्षबाट प्राप्त हुनसक्ने सम्भावित उच्च लाभांशको अगाडि ८–९ प्रतिशतको ब्याजदर फिक्का सावित हुनेछ।

३. सिजनल गिरावट 

पक्कै पनि नेपालको पुँजी बजारमा वर्तमान समय फागुन–चैत महिनालाई आफ सिजनका रुपमा अथ्र्याउने गरिन्छ। त्यसमा केही सत्यता पनि छ। किनकि यो समय भनेको अधिकांश सूचीकृत कम्पनीहरुले गत वर्षको लाभांश वितरण गरिसकेका र चालु आर्थिक वर्षको लाभांश प्राप्तिका लागि लगानी गर्ने समय पर्याप्त बाँकी नै रहेकाले आमलगानीकर्ताले आक्रामक रुपमा सेयर खरिद नगर्ने रणनीतिअनुसार माग पक्ष कमजोर हुन गई माग र आपूर्तिमा सन्तुलन नमिल्दा कारोबार रकम तथा इन्डेक्समा केही गिरावट आएको हो। एक–दुई महिनापछि यस्तो प्रवृत्तिको स्वतः अन्त्य हुने भएकोले यसलाई सिजनल करेक्सनका रुपमा पनि लिन सकिन्छ।

४. राजनीतिक परिदृश्य

विगत केही महिनादेखि देशको राजनीति दिशाविहीन अवस्थाबाट गुज्रिरहेको देखिन्छ। नेपाली समाजमा प्रचलित भनाइ ‘घुमिफिरी रुम्जाटार’ प्रवृत्ति अहिले देशमा सरकारको नेतृत्व गरिरहेको पार्टीमा देख्न सकिन्छ। यस्तो अवस्थामा खासगरी आमलगानीकर्ताको मनमा द्विविधा उत्पन्न हुनुका साथै सरकार कस्तो बन्ने हो, अर्थमन्त्री को हुने हो, नीतिहरुमा बदलाव हुने हो कि भन्ने विभिन्न किसिमका कौतुहलताका बीच केही समय पर्ख र हेरको रणनीति अख्तियार गरेकाले पनि बजारको गिरावटमा थप मद्दत पुगेको अनुमान लगाउन सकिन्छ।

निष्कर्ष 

माथि अनुमान गरिएका बजार गिरावटसम्बन्धी कारणहरुमध्ये बुँदा १, ३ र ४ मा चर्चा गरिएका विषयहरु परिवर्तित समयसँगै अस्थायी रुपमा यदाकदा देखापर्ने र केही समयपछि स्वतः निष्क्रिय हुँदै जाने प्रवृत्तिका भएकाले १–२ महिनापछि ती कुराहरुको नकारात्मक प्रभाव स्वतः शून्यप्रायः हुने निश्चित छ। तर बुँदा २ को विषयलाई भने अलिकति शंकाको घेरामा राखेर थप तथ्यांकहरुको अध्ययन गरेपछि मात्र धाराण बनाउन उचित हुनेछ। 

आगामी दिनमा खासगरी बैंक तथा वित्तीय संस्था र केही हाइड्रोपावर कम्पनीबाट प्राप्त हुने सम्भावित उच्च लाभांशको तुलनामा बजारमूल्य अन्डर भ्यालू नै रहेकाले यस्ता कम्पनीहरुमा लगानी गर्दा भविष्यमा पछुताउनुपर्ने छैन भन्ने हामो निष्कर्ष रहेको छ।

अन्त्यमा

बजारमा बेलाबेलामा देखापर्ने यस्तै तमाम विषयको सामना गर्नका लागि आमलगानीकर्ताले आफ्नो लगानी रणनीति परिवर्तन गर्न जरुरी हुन्छ। त्यसैले त हामी सधैँ भन्ने गर्छौं यदि गाई किन्ने सोचमा छौँ भने गाई थारो होइन दुहुनो किनौँ, काठे होइन जर्सी  नै किनौँ,  दैनिक बिहान दूध किन्न होइन बिक्रीका लागि घरबाट निस्कौँ र दैनिक नगद आर्जनसँगै आर्थिक समृद्धिको यात्रा तय गरौँ।