काठमाण्डौ । रेमिटान्स शाखाको पार्किङ अकाउण्टबाट करोडौं रकम प्रमुख कार्यकारी अधिकृतकै संलग्नतामा अपचलन भएको काण्ड बाहिरिएसँगै सप्तकोशी डेभलपमेन्ट बैंक अहिले संकटमा छ । प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीसहितका कर्मचारीको संलग्नतामा १५ करोड बढी रकम हिनामिना गरेको प्रकरणले यो बैंक अहिले समस्यामा फसेको छ । 

सीइओ सुवेदीसहितका आरोपी कर्मचारी प्रहरी हिरासतमा छन् भने संचालक समितिले नयाँ नेतृत्वलाई बैंकको दैनिका कामकाज सम्हाल्ने जिम्मा दिइसकेको छ । 

यो प्रकरणले सप्तकोशी डेभलपमेन्ट बैंकप्रति निक्षेपकर्ता तथा ग्राहकहरुको विश्वास समेत गुम्न थालेको छ । हजारौं निक्षेपकर्ताले विश्वास गरेर पैसा राखेको बैंकको सीइओ नै अपचलनमा संलग्न भएपछि भविष्यमा समेत यो बैंकको प्रतिष्ठामाथि प्रश्न उठ्ने देखिन्छ । 

बैंकमा सीइओकै संलग्नतामा करोडौं रकम अपचलन भएको काण्ड बाहिरिएको बेला केही ठूला बैंक र फाइनान्स कम्पनीहरु भने सप्तकोशी बैंकलाई गाभ्ने ध्याउन्नमा लागेका छन् । १५ करोड बढी रकम अपचलनको प्रकरणले बैंकका संचालक हतास देखिएकै बेला सस्तो मूल्यमा यो बैंक उठाउन पाइने बुझाईका कारण काठमाण्डौका केही वाणिज्य बैंक, केही ठूला विकास बैंक र केही फाइनान्स कम्पनी पनि सप्तकोशीका संचालकहरुसँग एकपछि अर्को गर्दै अफर लिएर पुगिरहेका छन् । 

सप्तकोशी डेभलपमेन्ट बैंकका एक संचालकका अनुसार केही वाणिज्य बैंकले त आफ्नो प्रतिनिधिलाई विराटनगर नै पठाएर ‘फेस टू फेस’ छलफल गर्न भ्याइसकेका छन् । 

‘समस्यामा परेको बेला सेफ ल्याण्डिङको एउटा उपाय मर्जर वा एक्वीजिसन पनि हो भन्ने ठानेर होला हाम्रै कतिपय संचालक पनि त्यसका लागि तयार हुँदै गएको देखिएको छ ।’ ती संचालकले भने–‘तर, यस्तो समस्या परेका बेला बैंक मर्जरमा लैजाँदा राम्रो भाउ पाइन्न, हाम्रो लगानीको अवमूल्यन हुने प्रवल संभावना छ ।’ 

ती संचालकका अनुसार हालसम्म ‘क’ वर्गका वाणिज्य बैंकमध्ये ४ वटाले एक्वीजिसनका लागि इच्छा देखाउँदै प्रस्ताव गरिसकेका छन् । केही राष्ट्रियस्तरका विकास बैंकका संचालकहरु पनि सप्तकोशीलाई सस्तोमा उठाउने दाउ हेरिरहेका ती संचालकको दाबी छ । 

‘हुँदा–हुँदा अब हामीभन्दा साना फाइनान्स कम्पनीहरु पनि मर्जरको प्रस्ताव लिएर आउन थालेका छन् ।’ ती संचालकले भने–‘ओरालो लागेको बेला यस्ता कुरा हुँदा रहेछन् ।’ 

हाल सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वी नेपालका ७ जिल्लामा ३५ वटा शाखा कार्यालयहरु रहेका छन् । 

यो बैंकको चुक्तापूँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीको रिटेन अर्निङ, प्रतिसेयर आम्दानी जस्ता महत्वपूर्ण सूचक नेगेटिभ छन्। 

दोश्रो बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार मूल्य ३७० हराहारी प्रतिकित्ता रहेको छ ।