काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख चन्द्रसिंह साउदले बैंकलाई ब्रोकर लाइसेन्स वितरणको काम अब फटाफट हुने बताएका छन् । 

प्रमुख साउदले बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा ढिलाई भएको विषयमा बिजशालाले निरन्तर खबरदारी गरेकोमा धन्यवाद दिंदै अब कुनै विलम्ब नगरी बैंकहरुलाई ब्रोकर लाइसेन्स वितरण गरिने दाबी गरेका हुन् । 

‘हामीले पनि यसमा ढिलो गर्ने नियत राखेका थिएनौं ।’ प्रमुख साउदले भने–‘तपाईहरुले बारम्बार खबरदारी गरेका कारण पनि अब यो विषयले चाँडो निश्कर्ष पाउने भयो ।’ 

साउदले कहिलेदेखि बैंकलाई ब्रोकर लाइसेन्स वितरण हुन्छ भन्ने विषयमा चाहि भनेनन् । 

नेप्सेस्थित अर्को एक स्रोतका अनुसार आइतबार नेप्सेको संचालक समितिको बैठक बस्दैछ । यो बैठकले बैंकलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया लगायतको विषयमा महत्वपूर्ण निर्णय लिनसक्ने बताइएको छ । 

नेपाल राष्ट्रबैंकले ब्रोकर लाइसेन्स लिन चाहने १० बैंकलाई सो प्रक्रियाका लागि अगाडि बढ्न अनुमति दिइसकेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई यस्तो अनुमति दिएसँगै नेप्सेमाथि ब्रोकर लाइसेन्स वितरणको हलो अड्काएको आरोप लाग्दै आएको थियो । नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स वितरण र त्यसको मोडालिटीको विषयमा तयार प्रतिवेदन समेत दराजमै थन्क्याइएको विषय समेत बाहिर आएको थियो । 

नेप्सेका केही संचालकहरुको स्वार्थमा बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा ढिलाई भएको लगायतका यसभित्रका केही इन्साइडर स्टोरीहरु बिजशालाले प्रकाशन गरेको थियो । 

यसैबीच, नेपाल राष्ट्रबैंकस्थित एक स्रोतका अनुसार नेप्सेमा संचालकको रुपमा प्रतिनिधित्व गर्ने त्यहाँका २ अधिकारीहरु परिवर्तन भएपछि नेप्से व्यवस्थापनलाई उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउन दवाब दिएका छन् । राष्ट्रबैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्दै संचालक बनेकाहरुको भूमिका बैंकलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया तीव्र रुपमा अगाडि बढाउन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

नेप्से प्रमुख साउदको ‘अब बैंकलाई ब्रोकर लाइसेन्स फटाफट वितरण गर्न थालिनेछ’ भन्ने अभिव्यक्तिले पहिलो चरणमा सहायक कम्पनी स्थापना गरी नेप्से पुगेका वाणिज्य बैंकहरुले लाइसेन्स पाउनेछन् । पहिलो चरणम एनआइसी एशिया, सानिमा लगायतका बैंकहरुले सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सेवा संचालनको अनुमति माग्दै नेप्सेमा आवेदन दिइसकेका छन । राष्ट्रबैंकबाट यी बैंकहरुलाई ब्रोकरेज लाइसेन्सका लागि अगाडि बढ्न अनुमति दिएसँगै अब पहिलो चरणमा समेत यिनै बैंकहरुले लाइसेन्स पाउनेछन् । 

अन्य बैंकहरुको हकमा भने उनीहरुले सहायक कम्पनी खडा गरी आवश्यक कागजातसहित नेप्सेमा आवेदन पेश गर्नुपर्नेछ । नेप्सेले कागजात हेरी उनीहरुलाई पनि ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डमा सिफारिस गर्नेछ । नेप्सेको सिफारिसमा बोर्डले लाइसेन्स दिनुपर्नेछ । 

बोर्डका अधिकारीहरुले पछिल्लो समय नेप्सेले सिफारिस गरेर पठाएलगत्तै बैंकहरुलाई सेयर ब्रोकरेज लाइसेन्स दिइने यसअघि नै बिजशालामाार्फत प्रतिबद्धता जनाइसकेका छन् । 

यसैबीच, आउँदो मौद्रिक नीतिमा विकास बैंक र बित्त कम्पनीहरुले समेत ब्रोकरेज सेवा संचालनको नीतिगत व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।