काठमाण्डौ । लैनचौरस्थित केन्द्रीय कार्यालय रहेको समाज कल्याण परिषदले ९ पदमा ४० जनाका लागि जागिरको अवसर खुलाएको छ । 

बिहीबार एक सूचना प्रकाशित गर्दै परिषदले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो । 

राजपत्र अनकिंत तृतीय श्रेणीको अधिकृत सरहको पदमा खुल्ला र समावेशी गरी ११ जनाका लागि जागिरको अवसर खुलाइएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको र कम्तीमा ३ महिनाको आधारभूत कम्प्युटर तालिम लिएकोले आवेदन दिन सक्नेछन् । 

तृतीय श्रेणीकै कानून अधिकृतमा समेत एकजनाका लागि जागिर खुलाइएको छ । यो पदमा कानून विषयमा स्नातक उतीर्ण गरी ३ महिने कम्प्युटर तालिम लिएकाले आवेदन दिन सक्नेछन् । 

नासु सोसरहको सहायक प्रथम पदमा ४ जनाका लागि अवसर खुलाइएको छ । यो पदमा प्रवीणता प्रमाणपत्र तह उतीर्ण भई ३ महिने कम्प्युटर तालिम लिएकाले आवेदन दिनसक्ने बताइएको छ ।

सहायक प्रथम तहमै लेखापालका लागि समेत जागिरको अवसर खुलाइएको छ । व्यवस्थापन विषयमा प्रमाणपत्र तह उतीर्ण गरी कम्प्युटर तालिम समेत लिएकाहरुले यो पदमा आवेदन दिन सक्नेछन् । यो पदमा ४ जनाका लागि जागिरको अवसर खुलेको हो । 

सहायक प्रथम तहमै एकजना टेलिफोन अपरेटर समेत मागिएको छ । यो पदमा समेत प्रमाणपत्र उतीर्ण भएको तथा टेलिफोन संचालन तथा सचिवालय व्यवस्थापनको विषयमा कम्तीमा एकमहिने तालिम लिएकालाई प्राथमिकता दिइनेछ । 

प्रशासन समूहमा सहायक दितीयतर्फ खुल्ला र समावेशी गरी १६ जनाका लागि जागिरको अवसर खुलाइएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सोसरह उतीर्ण गरी ३ महिनाको कम्प्युटर तालिम लिएकाले यो पदमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

परिषदले ३ जना सहलेखापाल पनि मागेको छ । यो पदमा लेखा विषय लिई एसएलसी उत्तीर्णले यो पदमा आवेदन दिनसक्ने छन् । सहायक दितीय श्रेणीमै काम गर्ने गरी एकजना प्लम्बर समेत मागिएको छ भने सोही श्रेणीका लागि एक कम्प्युटर अपरेटर पनि मागिएको छ । 

सबै पदका लागि लिखित परीक्षा र अन्तर्वार्ता हुने जनाइएको छ । अधिकृत तहका लागि १ हजार, राजपत्र अनकिंत प्रथम तहका लागि ४ सय, रा.प. अनकिंत दितीयका लागि ३ सय शुल्क लाग्नेछ । दरखास्त, पाठ्यक्रम र अन्य जानकारीका लागि परिषदको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।