काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको सेयरमूल्य समायोजन भएर प्रतिकित्ता २०२.६१ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि सोमबारको कारोबारमा यो बैंकको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता २३३ रुपैयाँ रहेको थियो । 

बैंकको वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि मंगलबार एक दिनका लागि बुक क्लोज गरेको छ । यसको अर्थ सोमबारसम्म कायम सेयरधनीहरुले मात्र वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने र गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य अजेन्डासहित बैंकले वार्षिक साधारणसभा आउँदो माघ १७ गते शुक्रबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेरयधनीहरुलाई चुक्तापुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार ८२२ रुपैयाँको १५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँबराबरको बोसन सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बोसन सेयर कर प्रयोजनार्थ बैंकले ०।७८ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगको मर्जर वा प्राप्ति प्रक्रियाका लागि आवश्यक सम्पूर्ण गतिविधि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।