काठमाण्डौ । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा आफूलाई बित्तीय रुपमा स्वस्थ घोषित गरेको नेपाल बंैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खूद नाफा तर्फ नेपाल बैंक लिमीटेडले १६२.४१ प्रतिशतको प्रगति हासिल गरेको हो । 

मंगलबार बैंकले प्रकाशित गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा ४४ करोड ४३ लाख खूद नाफा आर्जन भएकोमा यो वर्षको पहिलो त्रैमासमै १ अर्ब १६ करोड नाफा भएको हो ।

यो बैंकले आफ्नो नाममा देशका विभिन्न स्थानमा रहेको जग्गा तथा भवन, क्रसहोल्डिंगमा रहेका सेयरहरु बिक्री गरेर आफ्नो आम्दानी बढाएको हो । बैंकको संचालन नाफातर्फ समेत राम्रै प्रगति भएको छ । सम्पत्ति बिक्री बाहेकको हकमा पनि बैंकले आफ्नो व्यापारलाई बढाएर राम्रो प्रगति गरेको छ । 

नेपाल बैंकको संचालन नाफा अघिल्लो वर्षको पहिलो त्रैमासमा १३ करोड ६४ लाख भएकोमा यो वर्ष बढेर सोही अवधिमा ४७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

यसैगरी, बैंकको खूद ब्याज आम्दानीतर्फ पनि उल्लेख्य प्रगति भएको छ । अघिल्लो वर्ष ६९ करोड ९१ लाख खूद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १ अर्ब १७ करोडको उचाईमा पुर्याएको हो । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ७.८५ प्रतिशत रहेको पूँजी पर्याप्तता(क्यापिटल एडेक्वेसी) रेसियो यो वर्ष १२.१२ प्रतिशत पुगेको छ । 

बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ मात्र थियो । 

यो अवधिमा बैंकले ८६ अर्ब २२ करोड निक्षेप संकलन गरी ६६ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७७ अर्ब ५४ करोड निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड कर्जा प्रवाह गरेको थियो । 

नेपाल बैंकले निस्क्रिय कर्जा दर(एनपीएल)लाई पनि घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.८२ प्रतिशत रहेको एनपीएल यो वर्ष सोही अवधिमा ३.१० प्रतिशतमा झरेको हो । 

बैंकको प्रति सेयर आम्दानी ७१.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.२९ गुणा कायम भएको हो ।