काठमाण्डौ । सत्ता गठबन्धन टुटाउने गरी नयाँ गठबन्धन बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नै उद्यत भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । 

शनिबार बिहान काठमाण्डौको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

राप्रपाले प्रदेशमा पनि सोहीअनुसारको निर्णय कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । 

प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिनेछ । 

गत पुस १० मा भएको सहमतिअनुसार राप्रपा पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेका थिए । यस्तै, राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।