काठमाण्डौ ।  इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र नाजुक बने भन्दै नेपाल आयल निगमले सवारीसाधनमा पेट्रोलियमको कोटासहित १० वटा सुझाव सरकारलाई दिएको छ। 

निगमले इन्धनको खपत कम गर्न दुईपांग्रे र साना सवारीसाधनलाई पेट्रोलिम पदार्थ वितरणमा कोटा निर्धारणसहितको सुझाव सरकारलाई पठाएको हो। 

आज बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न सरकारलाई सुझाव दिएको हो। जसमा दुईपांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने र जोरबिजोर प्रणाली लागू गर्ने रहेका छन्। 

बैठकले मोटरसाइकललाई ५ लिटर तथा कार र जिपलाई २० लिटर बढीमा एकपटकमा मात्रै इन्धन दिन सरकारलाई आग्रह गरेको छ। देशका प्रमुख सहरहरुमा शनिबारका दिन सवारीसाधन निषेध गर्न पनि निगमले सरकारलाई सुझाव दिएको छ। 

डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी तथा निजी र दुई पांग्रसहितका सबैखाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोर–बिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दूरीमा सवारीसाधनको प्रयाग नगर्न र ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि निगमले सरकारलाई सुझाव दिएको छ। सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमको ठहर छ।

निगमले सवारीसाधन तथा घरायसी प्रयोगमा अधिकतम मात्रामा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई सुझाव दिएको छ।