विराटनगर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प, मधेश आन्दोलन र नाकाबन्दीका कारण थिलथिलो बनेको उद्योग र व्यापार क्षेत्रका लागि सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको बताएका छन् । 

मोरंग व्यापार संघमा पूर्वाञ्चलका उद्योगी व्यापारीसँगको भेटमा उद्योगमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । 

उनले विभिन्न समस्याहरुका कारण देशको अर्थतन्त्र नाजुक रहेको उल्लेख गर्दै यसलाई बलियो बनाउनका लागि उद्योगी र व्यापारीहरुको मनोबल उच्च राख्नुपर्ने र यसका लागि सरकारले केही नयाँ प्याकेजको तयारी गरिरहेको बताए । 

कस्तो प्याकेज हो सो बिषयमा स्पष्ट चाहि पारेनन् । उनले अब जग्गा खरीद गरेर उद्योग लगाउन नसकिने भएकोले सरकारले ७ प्रदेशमा औद्योगिक करिडोर बनाउन पूर्वतयारीको कामलाई तीव्र पारेको समेत बताए । प्रत्येक प्रदेशमा कम्तीमा १ एक हजार विगाहा जमिनको व्यवस्था सरकारले गर्ने र त्यसमा उद्योग स्थापना गर्ने नीति रहेको उनले प्रष्ट्याए । मन्त्रीले कतिपय प्रदेशमा जग्गाको व्यवस्था समेत भईसकेको जानकारी दिए । विराटनगरमा स्थापना भएको कम्पनी रजिष्टारको कार्यालय उद्योग मन्त्रालयले स्थापना गरेको हुंदा यसलाई सुचारु रुपमा संचालन गर्न मन्त्रालय कटिवद्ध रहेको समेत उनले बताएका थिए । 

कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विनाशकारी भूकम्प, मधेश आन्दोलन, भारतीय नाकाबन्दी आदि कारण देशको आर्थिक अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको र सबैभन्दा बढी मर्का उद्योगी व्यवसायीलाई भएको बताएका थिए । खस्केको आर्थिक अवस्थालाई सुधार गर्न सरकारले प्याकेजमा कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थिये । 

औद्योगिक व्यवसाय ऐन र श्रम ऐनमा समय सापेक्ष सुधार हुनुपर्नेमा जोड दिंदै सारडाले सरकार, नीजि क्षेत्र र ट्रेड युनियनले सहमति जनाई श्रम ऐन संशोधनका लागि पेश गरिएको प्रस्तावमा सरकारले सहमतिका बुंदा हटाई सो ऐन संसदमा पेश गरेकोमा आपत्ति समेत जनाएका थिए । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष श्री ताराचन्द खेतान, उद्योग संगठन मोरंगका अध्यक्ष शिवशंकर अग्रवाल लगायतले उद्योग क्षेत्रमा देखिएका समस्याका बारेमा मन्त्रीसमक्ष आफ्ना सुझाव पेश गरेका थिए ।