काठमाण्डौ । सरकारले फेरि रु. ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकमार्फत सरकारले आन्तरिक ऋण फेरि उठाउन सुरु गर्न लागेको हो।

सरकारले चालु बर्षको बजेटमा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमध्ये ५७ अर्ब उठाइसकेको छ। दोस्रो चौमासमा ५६ अर्ब उठाउनेछ। अन्तिम चौमासमा १ खर्ब १२ अर्ब उठाउने सरकारी योजना छ। 

दोस्रो त्रैमासमा उठाउन लागिएको आन्तरिक ऋणका लागि भोलि माघ ९ गतेबाट बोलकबोल सुरु हुनेछ। सरकारले १३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यसमध्ये साढे ३ अर्ब (९१ दिने), ५ अर्ब (१८२ दिने) र अर्को ५ अर्ब (३६४ दिने) को जारी गर्नेछ। ट्रेजरी बिल माघ १२, १९ र २६ गते जारी गर्नेछ।

सरकारले विकास बैंकपत्र ४० अर्बको जारी गर्ने छ। यो ६, ७ र ८ बर्ष अवधिका छन्। ६ बर्षे ऋणपत्र माघ २० गते, सात बर्षे माघ १३ गते र दुईवटा ८ बर्षे फागुन ११ र १८ गते जारी हुनेछ। १० र १० अर्बका दरले ऋणपत्र जारी गरिनेछन्। यसको ब्याज दर बोलकबोलबाट निर्धारण केन्द्रीय बैंकले जनाएको छ। 

राष्ट्र बैंकले २०८२ मा परिपक्व हुने नागरिक बचतपत्र २ अर्बको जारी गर्नेछ। यो माघ २७ गते जारी हुनेछ। ब्याजदर ९ प्रतिशत निर्धारण गरिएको छ। 

राष्ट्र बैंकले ५ वर्ष अवधिको रु. ५० करोडको बैदेशिक रोजगार बचतपत्र पनि जारी गर्नेछ। बचतपत्र माघ ९ गतेबाट बिक्री खुला हुनेछ। यसको ब्याजदर १० प्रतिशत छ।