काठमाण्डौ । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटलको पहिचान स्थापित गर्न संकेतका रूपमा स्टार चिह्न निर्धारण गर्ने भएको छ। 

ग्राहकलाई दिइने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने तयारी सरकारले गरेको हो। संकेत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार संकेत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटेलले प्राप्त गरेको तारा अथवा चिह्न र सैबभन्दा तल होटलको नाम रहनेछ। यस्तो संकेत चिह्न निश्चित साइजको हुनेछ। 

सबै स्तरका रिसोर्ट, तारा स्तरका होटेल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटेल र रिसोर्टको बनोटअनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिह्न अर्थात प्राप्त गरेको संकेत चिह्नसहितको साइनबोर्ड राख्नुपर्ने विभागको भनाइ छ। 

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटेलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटेलमा स्तरवर्गीकरण भएका सबै होटेलको हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘टीएस’ लेखिएको चिह्नलाई संकेत चिह्नके रूपमा निर्धारण गरिने पनि विभागले जनाएको छ। 

यसैगरी मोटल होटेलको हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘एम’ र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘आई’ लेखिएको चिह्नलाई संकेतका रूपमा निर्धारण गर्ने भएको छ। बेड एन्ड ब्रेकफास्टको हकमा भने गोलाकार रेखाभित्र रातो रङमा ‘बी एन्ड बी’ लेखिएकोलाई संकेत चिह्नका रूपमा निर्धारण गरिने विभागले जनाएको छ।