काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले आज ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको छ। 

नयाँ आदेशमा सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने, सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी फेला हुन नपाउनेजस्ता नियम जारी गरिएका छन्। त्यस्तै विवाह, व्रतबन्ध अनि मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने सरकारले जनाएको छ। 

पछिल्लो समय नेपालको सेयर बजारमा निकै आकर्षण बढेको छ। यही कारण ब्रोकर हाउसहरुदेखि लिएर मर्चेन्ट बैंकहरुमा लगानीकर्ताहरुको बाक्लै उपस्थित हुने गरेको छ।

कोरोना संक्रमण बढ्दै जानु र सरकारले नयाँ आदेश जारी गर्नुले अब ब्रोकर हाउसहरुमा भीड नियन्त्रणका उपायहरु पनि अपनाउन जरुरी देखिएको छ। यसका लागि ब्रोकर हाउसहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आवश्यक देखिन्छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली सरकारको आदेश सबैले पालना गर्नुपर्ने बताउँछन्। ‘अहिले अनलाइनबाटै धेरै काम हुन्छ, त्यसैले लगानीकर्ताले घरमै बसेर र अत्यआवश्यक कामबाहेक ब्रोकर हाउसमा नजान म आग्रह गर्छु’, उनले भने, ‘ब्रोकर हाउसमा जानै परे पनि सामाजिक दूरी कायम गरेर सेवा आदानप्रदान गर्नुहोस्।’

अब लगानीकर्तासँगै ब्रोकर हाउसका कर्मचारीहरु पनि सचेत हुन आवश्यक रहेको मैनालीले बताए। ‘त्यसैले सोहीअनुसार सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न म आग्रह गर्छु’, उनले भने।

स्टक ब्रोकर्स एसोसियसन नेपालका पूर्वअध्यक्ष प्रियराज रेग्मी पनि स्वास्थ्य नै ठूलो कुरो भएकोले सेवाग्राही र सेवा प्रवाह गर्ने सबै निकाय सचेत हुन आवश्यक रहेको बताउँछन्। ‘सरकारको आदेश सबैले मान्नैपर्छ, यस्तो बेला झनै आफैँ सचेत हुनुपर्छ’, उनले भने, ‘सबैजना सुरक्षित हुने हिसाबले अगाडि बढ्नुपर्छ। त्यसैले ब्रोकर हाउसहरुमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिनुपर्छ।’