काठमाण्डौ । सरकारले दिने भनेको रकम नदिएका कारण बीमा कम्पनीहरुबाट कोरोना बीमा दाबी भुक्तानी रोकिन पुगेको छ। 

सरकारबाट आउनुपर्ने रकम आएपछि नियमित रुपमा सहज तरिकाले दाबी भुक्तानी हुने बीमा कम्पनीहरुले जनाएका छन्। ती कम्पनीका अधिकारीहरुले सरकारले पैसा नदिएपछि दाबी भुक्तानी अवरुद्ध हुन पुगेको बताएका छन्। यस विषयमा बीमा समितिले पहल हुनुपर्ने उनीहरुको भनाइ छ। 

यो पोलिसीअन्तर्गत १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको बीमा गर्न पाइन्छ। सरकार र कम्पनीहरुबीच १ अर्ब रुपैयाँसम्मको भुक्तानी बीमा कम्पनीले नै व्यहोर्ने र त्योभन्दा माथिको १ अर्बको नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने सहमति भएको छ। त्यसपछिको ५० करोड रुपैयाँ बीमा समितिमा रहेको विपत्ति फन्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको छ।

बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीले दिनुपर्ने भुक्तानी दिइसकेका छन् । बीमा समितिले समेत दिनुपर्ने १ अर्ब भुक्तानी भइसकेको छ। 

अब सरकारले दिनुपर्ने रकम नआएपछि बीमा कम्पनीहरुबाट हुने दाबी भुक्तानी अवरुद्ध हुन पुगेको हो। 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले दिने भुक्तानी प्रक्रिया पनि सुरु भइसकेकोले बीमा कम्पनीहरुबाट दाबीभुक्तानी दिइने बताए । 

कोरोना संक्रमण धेरैमा देखिन थालेपछि यसअघि पनि बीमा कम्पनीहरुकै आग्रहमा बीमा समितिले यो पोलिसी बन्द गरेको थियो। तर सरकारले पनि व्ययभार खेप्ने भनेपछि यो पोलिसी पुनः सुरु भएको थियो।