काठमाण्डौ । सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवं कोभिड–१९ निर्देशन समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले मलेसिया, कतार, साउदी अरेबिया, युएई, टर्की र जापानका लागि हवाई उडान पुनः सञ्चालन गर्ने भएको हो। 

बैठकले ती मुलुकबाट सातामा २ हजारभन्दा यात्रु नबढ्ने गरी उडान पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 

यसैगरी कोभिड–१९ निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटेलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारलाई सरकारले सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। जसअनुसार सरकारले कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च व्यहोर्नेछ।