काठमाण्डौ । अत्यावश्यक बाहेकका सेवा दिने सरकारी तथा सार्वजनिक कार्यालय र संघसंस्था बैशाख मसान्तसम्म बन्द हुने भएका छन् । 

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन् । 

कोरोनाको दोश्रो लहर तीव्र गतिमा फैलिएको भन्दै यसको चेन ब्रेक गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले अत्यावश्यक बाहेकका कार्यालय तथा संघसंस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताएका हुन् । 

यस्तै, सरकारले देशभरका ठूला अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने घोषणा समेत ओलीले गरेका छन् । अब देशभरका ठूला सरकारी तथा निजी अस्पताल कोभिड अस्पतालको रुपमा संचालन हुनेछन् । साना अस्पतालहरु भने नन्कोभिड अस्पतालको रुपमा संचालन गरिनेछ । 

ओलीका अनुसार बैशाख २० गते राति १२ बजेदखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्दको निर्णय भएको छ । यस्तै, बैशाख २३ गते राति १२ बजेदेखि सबै अन्तराष्टिय हवाई उडान समेत बैशाख मसान्तसम्म बन्दको घोषणा गरिएको छ । 

यस्तै, भारतसँग सीमा जोडिएका १३ नाका मात्र संचालनमा ल्याइएको र ती सबै नाकामा हेल्थ डेस्कबाट एन्टीजेन परीक्षणपछि मात्र नेपाल प्रवेशको व्यवस्था मिलाइएको ओलीले दाबी गरेका छन् ।