-प्रकाश बञ्जारा
इटहरी । भिडभाड हुन नदिने नेपाल सरकारको निर्देशनको सरकारको आफ्नै स्वामित्व समेत रहेको नेपाल बैंकले खिल्ली उडाएको छ । 

आइतबार सुनसरीको झुम्कास्थित नेपाल बैंकको शाखा कार्यालयमा सेवाग्राहीको घूइँचो हेर्नलायक थियो । 

सामाजिक सुरक्षा भत्ता लिन बैंक आएका सेवाग्राहीहरु ठेलमठेल गर्दै आफ्नो लाइनमा उभिएर पालो कुर्दै थिए । 

बिश्वव्यापी कोरोना माहामारीका कारण संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सरकारले भिड्भाड हुन नदिन भने पनि यहाँ कत्ति पनि साबधानी अपनाइएको छैन । तस्विरबाटै थाहा हुन्छ, यहाँ सामाजिक दूरी भन्ने कुराको कुन हदसम्म खिल्ली उडेको छ भन्ने । 
 
बैंकमा आफ्नो भत्ता थाप्न आएका वृद्धबृदाहरु जोखिमकैबीच लाइनमा आफ्नो पालो कुर्दै रहे पनि बैंकले सावधानीका लागि कुनै सहजीकरण नै गरेको देखिएन । 

रामधुनी नगरपालिकाको वडा नम्बर १ मा पर्ने नेपाल बैंकको यहाँको शाखा पूर्व पश्चिम राजमार्ग छेउमै अवस्थित छ । 

आइतबार करिब १२ बजेतिर ईलाका प्रहरी कायालय पकलीको प्रहरी टोली बैंकमुनि रहेको मेडिकल पसलमा आयो । सरकारी निर्णयको खिल्ली उडाउँदै भएको भिडभाडमा प्रहरी पनि मूकदर्शक बन्यो, त्यहाँको जोखिमपूर्ण भीड हेर्दै नहेरी फर्कियो । 

यसबारेमा बैंकका कर्मचारीसँग प्रतिक्रिया लिन खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । 

झण्डै आधा दर्जन बैंक भएको झुम्का बजारमा निजी क्षेत्रबाट संचालित अन्य बैंकहरुले सावधानीका साथ एकपटकमा ५ जना सेवाग्राहीलाई मात्र प्रवेश दिइरहेका छन् । लाइनमा बसाउँदा समेत पर्याप्त सामाजिक दूरी कायम गर्न लगाइएको छ । तर, देशकै पहिलो र सरकारको ठूलो स्वामित्व रहेको नेपाल बैंकले भने ठीक विपरीत भीडलाई व्यवस्थापन गर्न कुनै प्रयास नै गरेको छैन । जसका कारण सरकारले दिने भत्ता थाप्न आएका वृद्धवृद्धाहरुमै कोरोना संक्रमण डरलाग्दो गरी फैलिने खतरा देखिएको छ । यसले समाजमै संक्रमणको बिस्तारलाई भयावह बनाइदिनसक्ने जोखिम समेत देखिएको छ ।