काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र नेपाल राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको बताएका छन्। 

राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएर आएपछि सरकार र राष्ट्र बैंकबीच राम्रो विश्वासको सम्बन्ध कायम भएको आफूले महसुस गरेको बताएका हुन्। ‘क्याबिनेटको पहिलो बैठकदेखि नै सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई अझ प्रभावकारी र परिणामुखी बनाउन सकिन्छ भन्नेमा मेरो ध्यान थियो’, उनले भने, ‘यहाँसम्म आइपुग्दा सार्वजनिक र निजी क्षेत्रको सहकार्यको प्रक्रियामा पनि केही उल्लेख्य सुधार भएको मैले महसुस गरेको छु। म राष्ट्र बैंकका गभर्नरलाई भन्न चाहन्छु अहिले मौद्रिक नीति र वित्त नीतिबीच राम्रो सम्बन्ध कायम भएको छ।’

कोभिडपछि अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै गएको प्रधानमन्त्री दाहालले दाबी गरे। ‘सरकारले अर्थतन्त्रलाई संकटमा जानतर्फ रोक्न चालेका कदमहरुका कारण अहिले शोधानान्तरण स्थिरतमा केही उल्लेख्य सुधार आएको र विदेशी मुद्राको सञ्चिति पनि बढेको छ’, उनले भने, ‘तरलता र ब्याजदरलगायतका कतिपय सूचकमा पनि सुधार भइरहेको छ।’

प्रधानमन्त्री दाहालले अब सरकारको ध्यान अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल केन्द्रित हुन जरुरी रहेको बताए।  

दाहालले कोभिडका कारण शिथिल हुन लागेको अर्थतन्त्रलाई सरकारको वित्त नीति र राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान हुन लागेको बेला रुस–युक्रेन युद्धबाट नयाँ चुनौती थपिएको बताए। ‘यी चुनौतीको सामना गर्न हाम्रा कतिपय संरचना रहेका कमजोरी र नीतिगत असन्तुलन पनि उजागर भएका छन्। एक क्षेत्रको समस्या समाधान गर्न चालेको कदमल अर्को क्षेत्रमा समस्या सिर्जना गरेको अवस्था पनि छ। आगामी दिनमा यस्ता कमीकमजोरी हुन दिन सचेत हुन जरुरी छ।’

बैंकिङ क्षेत्रका विकास र विस्तारले देशमा वित्तीय पहुँच बढेको पनि प्रधानमन्त्री दाहालले बताए। ‘कर्जा लगानीमा भएको वृद्धिले हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुगेको छ’, उनले भने, ‘बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून रहेको छ।’

सीमित क्षेत्रका व्यक्ति बैंकिङ क्षेत्र ठूलो स्रोत–साधन प्रयोग गर्ने र उपलब्ध स्रोत–साधन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनुत्पादक केन्द्रित हुनेजस्ता समस्या पनि प्रशस्तै देखिएको दाहालले बताए। अहिले अर्थतन्त्रमा समस्या देखिनु पनि यस्तै क्रियाकलाप जिम्मेवार रहेको उनको भनाइ थियो। 

यस्ता प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक र बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नुपर्ने आवश्यक रहेको प्रधानमन्त्री दाहालले औँल्याए। 

नेपालको अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीहरुको उच्चतम विन्दु पार गरिसकेको पनि दाहालले बताए। ‘आगामी परिदृष्य राम्रो रहेको छ’, उनले भने। 

पर्यटन पूर्वाधारमा गरिएको लगानी र कोभिड महामारी छि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहल–पहलबाट आगामी शरदऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वको अवस्थामा फर्कने संकेत देखिएको दाहालले बताए। ‘नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी–व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको छ। बैंकिङ क्षेत्रको तरलता बढ्दै जाने र कर्जाको ब्याजदर घट्दै जाने क्रमले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ’, उनले भने।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले संरचनागत सुधार गर्ने, बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने, अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिने प्रधानमन्त्री दाहालले बताए। ‘यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जानेछ’, उनले भने।