काठमाण्डौ । बैशाख ३० गतेलाई तोकिएको स्थानीय निकाय निर्वाचनको आचारसंहिता लागू हुने अघिल्लो दिन सरकारले मिति सार्ने निर्णय गरे अनौठो नमान्दा हुने स्रोतले दाबी गरेको छ । 

सत्तारुढ घटकको प्रमुख दल नेपाली कांग्रेसबाट प्रभावशाली मन्त्री बनिसकेका एक प्रभावशाली नेताले बिजशालासँग कुरा गर्दै बैशाख ३० गतेको निर्वाचन सर्नसक्ने दाबी गरेका हुन् । 

नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले बिजशालासँग भने-'सकेसम्म बैशाख ३० गतेको निर्वाचनको मिति सार्ने गरी गृहकार्यहरु भएका छन् । यो विषयमा गठबन्धनमा सहभागी प्रमुख पार्टीका प्रमुख नेताहरु सहमत छन् । त्यसकारण सरकारले निर्वाचनको मिति सार्ने कुनै निर्णय गरिहालेमा अनौठो नमान्दा हुन्छ ।' 

ती नेताका अनुसार यदि बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन सार्ने निर्णय भएमा आगामी मंसिरमा तीनै तहको निर्वाचन गर्ने नयाँ घोषणा हुनेछ । 'बैशाख ३० गतेको निर्वाचन सारेर मंसिरमा तीनै तहको एकैपटक गर्ने गरी सरकारले नयाँ घोषणा गर्नसक्ने संभावना समेत प्रवल देख्छु म ।' ती नेताले भने-'अहिलेकै अवस्थामा स्थानीय निर्वाचनमा जाँदा प्रमुख प्रतिपक्षी एमालेलाई लाभ हुने गठबन्धनका नेताहरुको निश्कर्ष छ ।' 

घोषणा भइसकेको निर्वाचनको मिति सार्नुपर्नेमा पक्षमा सुरुवातदेखि नै नेकपा एसका नेता माधवकुमार नेपालले आन्तरिक लविंग गरिरहेका छन् । कांग्रेससँगको गठबन्धन सकसपूर्ण हुने देखेका माओवादी अध्यक्ष प्रचण्ड पनि भरसक बैशाख ३० गतेको निर्वाचन सार्नुपर्ने पक्षमा छन् । 
पछिल्लो समय गठबन्धन गर्नुपर्ने विषयले ठाउँ ठाउँमा कांग्रेस नै विभाजित भएपछि, आफ्ना विश्वासिला कार्यकर्ता पार्टी छाडेर एमाले र अन्यत्र गएपछि र पार्टीको आन्तरिक किचलो निर्वाचनको मुखमा समेत नमिलेका कारण कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बैशाख ३० को निर्वाचनले आफूहरुलाई लाभ नहुने विश्लेषण गरेर बसेका कांग्रेस नेताहरु नै बताउँछन् । 

स्रोतहरुको कुरालाई आधार मान्ने हो भने पछिल्लो समय सरकारले अर्थतन्त्रमा गम्भीर संकट आएको कुरालाई अगाडि सारेर समेत तोकिएको निर्वाचनलाई सार्नसक्ने संभावना देखिन्छ । 'अर्थतन्त्र जर्जर बनेको बेला निर्वाचन गर्नुपर्दा उत्पन्न हुने दायीत्वको व्यवस्थापन हुन नसक्ने विषयलाई उछालेर समेत निर्वाचनको मिति सार्ने खेल हुनसक्छ ।'-स्रोत दाबी गर्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले निकै महत्वपूर्ण ठानिएको आजको मन्त्रीपरिषद बैठकअघि समेत विभिन्न दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग वान टू वान कुराकानी गर्नुले पनि केही अर्थ राख्ने स्रोत दाबी गर्छ । आजकै क्याबिनेटबाट समेत अनपेक्षित निर्णय हुनसक्ने स्रोतको दाबी छ । 

यस्तै, आजको क्याबिनेटले अर्थतन्त्र समस्यामा परेको र त्यसका लागि आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकतामा जोड दिंदै तत्काल विदेशी मुद्रा सञ्चिती बढाउनका लागि पेटोलियम खपत घटाउने घोषणासहित आइतबार र शनिवार गरी सातामा २ दिन सार्वजनिक विदा दिन थाल्ने, मुख्य शहरका निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने, इण्डक्सन चुल्हो लगायतका विद्युतीय घरेलु उपकरणमा अनुदानको व्यवस्था लगायतका महत्वपूर्ण घोषणा समेत गर्नसक्ने संभावना प्रवल रहेको छ । 

यसैबीच, हामीले यही प्रश्न कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई गरेका थियौं । सत्ताको नेतृत्व गरिरहेको दल कांग्रेसको जोडबलमा स्थानीय निकायको निर्वाचनको मिति सारिन लागेको हो ? भन्ने हाम्रो जिज्ञासा मेट्दै डा. रिजालले भने -'स्थानीय निकायको निर्वाचनको मिति सर्दैन, सार्नुहुँदैन । समयमै निर्वाचन हुन्छ ।'