काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सर्वाधिक रेमिट्यान्स भित्र्याउने ३ वटा वाणिज्य बैंकलाई पुरस्कृत गरेको छ। 

राष्ट्र बैंकको आज आयोजित ६८ औँ वार्षिकोत्सवका अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने ३ वटा वाणिज्य बैंकलाई पुरस्कृत गरिएको हो। पुरस्कृत हुने वाणिज्य बैंकहरुमा हिमालयन बैंक, नेपाल एसबीआई बैंक र ग्लोबल आइएमई बैंक छन्। 

आर्थिक वर्ष २०७८–७९ मा भित्रिएको रेमिट्यान्सका आधार २० वटा वाणिज्य बैंक र ६ वटा विकास बैंकमध्येबाट ती बैंक छानिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार कुल भित्रिएको रेमिट्यान्समा हिमालयन बैंकको हिस्सा १६.९ प्रतिशत, नेपाल एसबीआई बैंकको १६.७७ प्रतिशत र ग्लोबल आईएमई बैंकको १५.६५ प्रतिशत रहेको छ। 

यसैगरी सोही अवसरमा राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायक संस्थामध्ये सर्वाधिक रेमिट्यान्स भित्र्याउने ३ कम्पनीलाई पनि पुरस्कृत गरेको छ। यसरी पुरस्कृत हुनेमा आइएमई, सिटी एक्सप्रेस र प्रभु मनी ट्रान्सफर छन्। 

आर्थिक वर्ष २०७८–७९मा रेमिट्यान्स सेवा प्रदायक संस्थाहरुबाट भित्रिएको कुल रेमिट्यान्समध्ये आइएमईबाट ३१.२९ प्रतिशत, सिटी एक्सप्रेसको १४.९२ प्रतिशत र प्रभुको १०.९८ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ।