काठमाण्डौ । अमेरिकी डलरको भाउ बुधबार एक मोहरले घटेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ हिजो मंगलबारको तुलनामा ५१ पैसाले घटेको हो। आजको विनियम दरअनुसार प्रतिडलर खरिददर १२१.२३ रुपैयाँ र बिक्रीदर १२१.८३ रुपैयाँमा झरेको छ। 

हिजो मंगलबारको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.७४ रुपैयाँ र बिक्रीदर १२२.३४ रुपैयाँ रहेको थियो। डलरको यो विनिमय दर नेपालकै इतिहासमा हालसम्मकै उच्च हो।

सोमबार अमेरिकी डलरको खरीद दर १२० रुपैयाँ र बिक्री दर १२०.६० रुपैयाँ तोकिएको थियो। 

भारतसँग नेपालको स्थिर विनिमय दर छ। भारतीय मुद्रा कमजोर हुँदा त्यसको सोझो असर नेपाली रुपैयाँमा समेत पर्छ, अहिले त्यसैको असर दैनिक रुपमा देखिइरहेको हो। 

भारतसहित विश्वभरका सेयरबजारमा उच्च गिरावट आइरहेको छ। यसकारण समेत लगानीकर्ताहरु डलरमा लगानी गर्न आकर्षित हुँदै गएका छन्।

यसले डलरको भाउ बढाएको छ। भारतीय सेयर बजारमा पनि उच्च गिरावट आइरहेको छ, यसले भारुको हालसम्मकै सर्वाधिक अवमूल्यन भएको छ। त्यसको असर नेपाली मुद्रामा परेको हो। 

अमेरिकी डलरको भाउ बढ्दा नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकका लागि वेफाइदा बढी हुन्छ। देशमा आयात गर्ने वस्तुको भुक्तानी डलरमा गर्नुपर्ने भएकोले समेत यसले देशको अर्थतन्त्रलाई कमजोर बनाइदिन्छ र व्यापार घाटामा अत्यासलाग्दो वृद्धि हुन सक्छ। 

विदेशमा बसेर काम गर्नेहरुले देशमा पठाउने रेमिट्यान्स चाहि डलरको भाउमा भएको वृद्धिले बढ्ने गर्छ।