काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको छ। 

ऋषि कट्टेलले आफ्नो पार्टीको नाम निर्वाचन आयोगले प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको हो। सर्वोच्च यो फैसलासँगै ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज भएको छ। ‘नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५÷०२÷२३को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५÷०७÷०९ को निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६९१० (ङ) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानुनी व्यवस्थाविपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ। 

नेकपाको एकीकरण खारेज गरेर नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववतः रूपमा ब्युताइदिएको छ। 

निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक के अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुनबमोजिम आवश्यक निर्णय गर्ने गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ। ‘आदेशको प्रतिलिपि साथै राखी सो को जानकारी विपक्षीहरुलाई दिनु र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू’, आदेशमा भनिएको छ।