काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडको आज (असार १० गते) विशेष साधारणसभा बस्दैछ। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ। जसमा १९.११८ प्रतिशतले हुन आउने ६५ करोड रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.००६ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
सोही सभाले कम्पनीको हालको जारी तथा चुक्तापुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनुपात मिलान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बोनस सेयर जारी र पुँजीको अनुपात मिलानपछिको व्यवस्थाअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशनअनुसार समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
कम्पनीको यसअघि गत वर्ष माघ ५ गते भएको दोस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। जसअनुसार कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतले हुने कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ।
कुल निष्कासन हुने साधारण सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताअन्तर्गत, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई २८ लाख कित्ता छुट्याइएको छ।
कम्पनी आन्तरिक मूल्यांकन तथा केही आधारहरु अध्ययन गर्दा प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँभन्दा बढी हुनेमा विश्वस्त रहेको छ। यद्यपि अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने कम्पनीले जनाएको छ।
आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी सतप्रतिशत ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने रहेको र यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तथा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ।
इक्राबाट कम्पनीले आईपीओ रेटिङ बीबीबी प्लस पाएकोले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको देखिन्छ। साथै, इक्रा रेटिङअनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने दाबी गरिएको छ।
यो कम्पनी २०६७ सालमा ई. विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना स्वदेशी तथा विदेशी लगानीकर्ता मिलेर स्थापित भएको थियो। कम्पनीले २०७१ सालमा क्लिंकर उत्पादन तथा बिक्री गर्दै २०७३ सालमा सिमेन्ट उत्पादन गर्न थालेको हो। २०७६ साउनमा प्रालिबाट लिमिटेड कम्पनीमा परिणत भएको थियो।
48 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago