काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुन लागेको कार्यक्रम रद्ध भएको छ । 

विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण र राजनीतिक स्थायीत्वपछि नेपाल शान्त छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गर्न लागिएको दबंग द टूर कार्यक्रम विप्लव माओवादीको धम्कीका कारण रद्ध गरिएको आयोजकले जनाएको छ । 

विप्लव समूहको जनसांस्कृतिक संगठनले सलमान खानको सहभागितामा हुने कार्यक्रम गरिए जे पनि हुनसक्ने भन्दै चेतावनी दिंदै विज्ञप्ति जारी गरेपछि असुरक्षाको कारण देखाउँदै खान नआउने भएका स्रोतको दाबी छ । 

‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा आयोजना हुने तयारी गरिएको थियो । टुँडिखेलमा हुने शोमा सलमानको साथमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने कार्यक्रम थियो ।

सलमान खान उपस्थित हुने कार्यक्रम रद्ध भएसँगै नेपालको बिषयमा गलत छवि पुनः एकपटक अन्तराष्ट्रिय जगतमा फैलिएको आयोजकहरुको भनाई छ ।