काठमाण्डौ । निकै लामो समयपछि सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक र सहकाय प्रहरी निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । 

५४ जना सशस्त्र प्रहरी निरीक्षक र ३६ जना सहायक प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरिएको हो । 

बुधबार सशस्त्र प्रहरी बलको मानवस्रोत विकास विभागको भर्ना तथा छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गर्दै कुल ९० अधिकृतका लागि दरखास्त मागेको हो । 

सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट, महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्र र अमरप्रहरी परिवारबाट १ १ पदमा आरक्षण कोटा छुट्याइएको छ । 

यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकमा १९ जना खुलातर्फ, ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १ १ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारका लागि छुट्याइएको छ ।

सूचना अनुसार स्नातक उत्तीर्णले प्रहरी निरीक्षक र प्रमाणपत्र(प्लस टु) उत्तीर्णले सहायक निरीक्षकको दरखास्त भर्न सक्नेछन् ।

असोज ५ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र सबै क्षेत्रीय कार्यालयहरुमा इच्छुकले आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

सूचनामा उल्लेख भए अनुसार प्रहरी निरीक्षकका लागि नेपाली, अंग्रेजी, सामान्य ज्ञान, संविधान तथा कानूनहरु र सेवा सम्बन्धी गरी ५ विषयको लिखित परीक्षा हुनेछ । यस्तै, सहायक निरीक्षकका लागि नेपाली रचना र अंग्रेजी, सामान्य ज्ञान र आइक्यू तथा संविधान र सेवा सम्बन्धी गरी ३ वटा पेपरको मात्र लिखित परीक्षा दिनुपर्ने छ । 

अन्य जानकारीका लागि भर्ना सम्बन्धमा प्रकाशित सूचना हेर्नुहोस् ।