काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। 

सशस्त्र प्रहरी खुला र समावेशीका आधारमा १ हजार ९५ जनाका लागि दरखास्त आह्वान गरेको हो। जसअनुसार सबैभन्दा धेरै सशस्त्र प्रहरी जवानका लागि ठूलो संख्यामा नयाँ भर्ना गर्न लागिएको छ। यो पदमा मात्रै ७५५ जनाका लागि दरखास्त खुलाइएको छ।

यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १३७ जना र सशस्त्र प्रहरी निरीक्षकमा ७५ जनाका लागि नयाँ भर्ना खुलाइएको छ।

सशस्त्र प्रहरी परिचरअन्तर्गत भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली गरी कुल १२८ जनाका लागि दरखास्त खुलाइएको छ। 

इच्छुक उम्मेदवारले आज भदौ ११ गतेबाट दरखास्त बुझाउन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम मिति असोज १० गतेसम्म रहेको छ। 

प्रहरी निरीक्षक पदका लागि सशस्त्र प्रहरी बलको काठमाण्डौको स्वयम्भुस्थित प्रधान कार्यालय तथा सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरुमा दरखास्त बुझाउन सकिनेछ छ। 

प्रहरी सहायक निरीक्षक पदका लागि भने प्रधान कार्यालय तथा १, २, ४, ५, ६ र ७ नं. बाहिनी मुख्यालयमा दरखास्त बुझाउन सकिनेछ। 

जवान पदका उम्मेदवारले भने प्रधान कार्यासहित १, २, ४ र ७ नम्बर बहिनी मुख्यालय तथा नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासी र सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेमा दरखास्त दिन सकिनेछ।

यसैगरी प्रहरी परिचरका लागि प्रधान कार्यालयमा दरखास्त बुझाउनुपर्नेछ।