काठमाण्डौ । नेपाली जनमानसमा सहकारी संस्था भनेका ठग हुन् भन्ने नराम्रो परिचय बनेको छ । चप्पल लगाउनेहरुका लागि स्थापित हुनुपर्ने सहकारीमा टाईसुट लगाउनेहरुको बोलवाला चल्नु र सहकारीको नाममा विभिन्न ठगीका घटना हुनुले समग्र सहकारी क्षेत्रको बदनामी हुने गरेको छ । सहकारीका नाममा ठगीहरु भइरहँदा त्यसबाट सचेत हुनुपर्ने सर्वसाधारण ठगीका नयाँ नयाँ फण्डामा भूलिएर र लोभिएर फस्ने गरेका छन् । 

आइतबार पूर्वी नेपालको एक दैनिक पत्रिकामा सहकारीले ठगी गर्ने उद्देश्यले यस्तै एउटा रोचक विज्ञापन छाप्यो । सहकारीको नाम नराखी छापिएको विज्ञापन हेरेर धेरै सर्वसाधारणले ठगीको फण्डामा फस्ने मन पनि गरेका बुझियो । 

पूर्वी नेपालकै चर्चित एक दैनिक पत्रिकामा आज एउटा विज्ञापन आयो, जहाँ भनिएको छ–सहकारीमा २० लाख रुपैयाँ ५ वर्षे मुद्धती खातामा पैसा जम्मा गर्दा मोरङस्थित सुन्दरहरैँचा २ मा १० धुर जग्गा उपहार लिनुहोस् ।’

आज प्रकाशित उक्त विज्ञापनमा सहकारीको नाम उल्लेख गरिएको छैन, २ वटा सम्पर्क नम्बर मात्र राखिएको छ । यसले समेत यो विज्ञापन सन्देस्पाद छँदै थियो । हामीले विज्ञापनमा दिइएका नम्बरमा सम्पर्क गर्यौं । आफूलाई काठमाण्डौस्थित नारायणस्थानको कैलाश बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी प्रमु्ख दाबी गरेका प्रशान्त जिसीसँग सम्पर्क स्थापित भयो । अनि पो पत्ता लाग्यो त्यो विज्ञापन कैलाश बहुउद्देश्यीय सहकारी संस्थाले प्रकाशित गरेको रहेछ । 

कैलाश बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख जिसीका अनुसार २० लाख रुपैयाँ मुद्धती खातामा जम्मा गर्ने बित्तिकै १० धूर जग्गा उपहारको रुपमा दिइनेछ । उनले उक्त जग्गाको चलनचल्तीको मूल्य प्रति धूर १ लाख ६० हजार रहेको समेत दाबी गरे । 

मोरङको सुन्दरहरैँचास्थित प्लटिङमा २० फूटे बाटोमा १० धुर जग्गा दिइने उनले बताए । २० लाख रुपैयाँ ५ वर्षे मुद्धतीमा राख्दा ब्याजका साटो जग्गा दिइएको उनले जिकिर गरे । उनका अनुसार सुन्दरहरैंचाको सलकपुरस्थित खानेपानी ट्याङ्की पछाडिको प्लटिङमा १० धूर जग्गा २० लाख रुपैयाँ मुद्धतीको रुपमा राख्नेबित्तिकै उपहार पाइनेछ । ५ वर्षपछि भने सहकारीको मुद्धती खातामा राखिएको २० लाख रुपैयाँ बिना ब्याज फिर्ता हुनेछ । 

यसरी सहकारीले जग्गा नै उपहार दिन्छु भन्दै प्रलोभन देखाई यस्तो विज्ञापन गर्न र निक्षेप संकलन गर्न पाउला त ? हामीले यस विषयमा सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेलाई सम्पर्क गर्यौं । उनले सहकारीको यस्तो अफर गैरकानूनी रहेको प्रष्ट पारे । जग्गा उपहार दिने प्रलोभन देखाएर सर्वसाधारणबाट निक्षेप संकलन गर्न खोज्ने र त्यसको गलत ढंगले विज्ञापन गर्ने सो सहकारीलाई तत्काल कारबाही हुने पाण्डेको प्रष्टोक्ति छ । उनले सहकारीले यस्तो काम गर्नै नसक्ने भन्दै सर्वसाधारणलाई ठगीमा नपर्न र सचेत हुन आह्वान समेत गरेका छन् ।