काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन्। सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा आजबाट सुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताए। उनले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निष्कर्ष निकाल्नुपर्ने धारणा राखे। ‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्, यस चुनौतीपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निष्कर्ष निकाल्नुपर्छ, सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्नु पर्छ’, उनले भने। 

वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘बचतकर्ताको पैसा सुरक्षित राख्नुपर्ने हामी सबैको दायित्व हो।’

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन महासम्मेलन कोशेढुंगा सावित बताए। 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताए। उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताएका हुन्। 

उनले तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नुपर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुनेछ। ‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ। विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ। सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ’, उनले भने, ‘सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटनसत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका थिए। गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए। गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गल्तीका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए। 

सहकारी क्षेत्रले सीमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको उल्लेख गर्दै अधिकारीले सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए। ‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’, उनले भने। 

कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा महासम्मेलनलाई सम्बोधन गरेका थिए।

आजबाट सुरु भएको महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन्। कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्। महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ।