पर्सा । नेपाल सरकारले भन्सार छुटमा उपलब्ध गराएको इन्धन बिक्री गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले वीरगञ्जको अलौमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी(आइसिपी)का खरिद व्यवस्थापक सहित तीन जनालाई पक्राउ गरेको छ । 

सहुलियत दरमा सरकारले उपलब्ध गराएको १२ हजार लिटर डिजल निजी पेट्रोल पम्पलाई बिक्री गरेको अभियोगमा प्रहरीले आइसिपीका खरिद व्यवस्थापक भारत झारखण्ड निवासी नितिनकुमार डालमियासहित तीन जनालाई पक्राउ गरेको हो । 

भारतबाट भन्सार छुटमा भित्र्याइएको डिजल वीरगञ्ज उपमहानगरपालिका– २० मा अवस्थित श्रीराम पेट्रोल पम्पमा बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले छापा मारी गरी डब्लु बी ५३ डी ८४१६ नम्बरको ट्याङ्कर चालक भारत विहार बेगुसराय निवासी धर्मेन्द्र साह र पेट्रोल पम्प सञ्चालक प्रदीप यादवलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । 

अभियुक्त तीनै जनामाथि कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

नेपाल–भारत सरकार बीच भएको सम्झौता अनुसार आइसिपीलाई अवस्यक पर्ने इन्धन नेपाल सरकारले भन्सार छुटमा उपलब्ध गराउने सहमति भएको थियो । सहमति अनुसार आइसिपीका लागि २०६७ सालमा दुई लाख लिटर इन्धन छुटमा उपलब्ध गराइएको थियो भने २०७२ सालमा १३ लाख लिटर इन्धन छुटमा दिने अर्थ मन्त्रालयले इजाजत दिएको वीरगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले जानकारी दिए  ।

अर्थ मन्त्रालयको अनुमति अनुसार हालसम्म आइसिपीलाई दुई लाख लिटर इन्धन उपलब्ध गराइएको र ११ लाख लि इन्धन उपलब्ध गराउन बाँकी रहेको निमित्त प्रमुख पन्तले बताए । आइसिपीका लागि इन्धन उपलब्ध गराउँदा प्रतिलि रु ९ देखि १० भन्सार छुट दिने गरिएको वीरगन्ज भन्सारले जनाएको छ ।