काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।

बैंकले गत असार ६ गतेदेखि रु. ७५ करोड रुपैयाँ ऋणपुँजी रकमबराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो। तर असार ९ गतेसम्म मागबमोजिम आवेदन नपर्ने भएपछि आवेदन दिने म्याद लम्बिएको हो।

धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार अब यो ऋणपत्रमा असार २० गतेसम्म आवेदन खुला गरिएको छ। तर उक्त मितिअघि नै यो ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा कुनै पनि दिन सूचना निकालेर निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ। 

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु। १००० दरमा किन्न पाइनेछ। ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ।

कुल निष्कासन हुने ७ लाख ५० हजार इकाइमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्यमबाट बिक्री गरिन लागेको हो। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ।