काठमाण्डौ । नियामकीय व्यवस्थाबाट सिर्जित दवाब, तरलता अभाव र अर्थतन्त्रको डामाडोल अवस्था लगायतका अन्यौलका बीच सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले सन्तोषजनक वित्तीय विवरण पस्किएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार सांग्रिला डेभलपमेन्ट बैंकको प्रगति सन्तोषजनक नै देखिएको हो । 

समीक्षा अवधिमा बैंकले ४० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो मुनाफा ३५ करोड १६ लाख रुपैयाँ सीमित थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म ४७ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर ५७ करोड १९ लाखभन्दा माथि पुगेको छ भने यो अवधिका लागि वितरणयोग्य मुनाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

चौथो त्रैमासमा पनि वितरणयोग्य मुनाफाको यस्तै दर कायम रहेमा यो बैंकले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई डबल डिजीटको प्रतिफल सहजै दिनसक्ने देखिन्छ । बैंकको चुक्तापूँजी ३ अर्ब १ करोड रुपैयाँ हाराहारीमा रहेको छ ।  

व्यवसायको श्रीवृद्धिमा नेतृत्वले ध्यान दिएका कारण खूद ब्याज आम्दानी ह्वात्तै बढेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८४ करोड ८९ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिसम्म १ अर्ब २५ करोड २६ लाखभन्दा माथि पुगेको देखिएको हो । 

अघिल्लो वर्ष ६५ करोड ९८ लाख रुपैयाँ सीमित रिजर्बको आकार बढेर ७७ करोड ५६ लाख पुगेको छ भने रिटेन अर्निंग केही घटेर २८ करोड ३५ लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा सांग्रिला बैंकले ४५ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.७५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिसम्मको इपीएस १७.९९ रुपैयाँ थियो । 

बैंकले विषम परिस्थितिमा पनि खराब कर्जा असूलीमा सफलता हात पारेको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म १.८९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.२० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८४.४० प्रतिशत, आधार दर १०.६२ प्रतिशत, कस्ट अफ फण्ड ८.३८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३५.१८ रुपैयाँ, पीई अनुपात २१.३६ गुणा, तरलता अनुपत २१.७० प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १२.७९ प्रतिशत कायम भएको छ ।