काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौको बालुवाटारमा रहेको आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ। 

काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, बैंक, व्यावसायिक कम्प्लेक्स, सपिङ मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको थियो। काठमाण्डौ महानगरपालिका कार्यालयसँग समन्वय गरी बैंकले यो निर्णय लिएको छ। 

यससम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी इकाइका तर्फबाट नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन्। 

बैंक र महानगरपालिकाबीच भएको सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयका रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाण्डौ महानगरपालिकाको प्रयासमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ। केन्द्रीय कार्यालय बिहान ९.३० बजेदेखि ५ बजेसम्म मात्र खुला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने व्यहोरासमेत जानकारी गराइन्छ।