काठमाण्डौ । रुस र युक्रेन युद्धले विश्वका सामु युद्धसँग सम्बन्धित धेरै सत्य ल्याएको छ। यो युद्धमा साइबर आक्रमणहरु तीव्र रुपमा भइरहेका छन्। यसले भविष्यका युद्धहरु जमिन, आकाश वा पानीमा मात्र नभई एउटा ठूलो युद्ध साइबर वर्ल्डमा हुने देखिएको छ। 

कोस्टा रिकाले पनि हाल यस्तै साइबर आक्रमणको सामना गरिरहेको छ। कोस्टा रिकाको समस्या रेन्समवेयर हो। विशेषगरी कोन्टी रेन्समवेयर ग्याङ। 

कोस्टा रिकाका राष्ट्रपति रोड्रिगो चाभ्सले सोमबार आफ्नो देश कोन्टी साइबर अपराधी गिरोहसँग युद्ध लडिरहेको जानकारी गराए। उनले गत मे ८ मा कोस्टा रिकाको राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए। चाभ्सले स्थानीय मिडियालाई भने, ‘हामी युद्धमा छौँ र यो कुनै अतिशयोक्ति होइन।’ 

राष्ट्रपति चाभ्सले १६ मेमा एक प्रेस विज्ञप्तिमा यस मामिलासँग सम्बन्धित धेरै जानकारी दिएका छन्। उनले यो लडाइँ कोस्टा रिकामा सक्रिय रहेको अन्तर्राष्ट्रिय आतंकवादी समूहविरुद्ध भएको बताएका छन्।

राष्ट्रपतिको यो अभिव्यक्तिले कोस्टा रिकामा रहेका केही मानिसहरु कोन्टी साइबर अपराधीहरुसँग मिलेमतो रहेको स्पस्ट संकेतहरु गरेको छ। कोस्टा रिका कोन्टी साइबर अपराधीको गिरोहको निशानामा कोस्टा रिका रहेको छ। गत अप्रिलदेखि यो गिरोहको रेन्समवेयर आक्रमणले सरकारी निकायहरुको सिस्टम ठप्प पारिदिएको छ। 

कोन्टीले आफ्नो वेबसाइटमा कोस्टा रिकाका जनतालाई आफ्नो सरकारलाई २० मिलियन डलर दिन दबाब दिन भनेको छ। यसअघि यो गिरोहले त्यहाँको सरकारसँग १ करोड डलर मागेको थियो।

कोस्टा रिकाजस्ता साना देशमात्रै होइन अमेरिका पनि यो गिरोहबाट हैरान रहेको छ। यही कारणले गर्दा अमेरिकी सरकारले यो गिरोहको पहिचान वा स्थान खुलाउने जोकोहीलाई १ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी सरकारले यो गिरोहका सदस्यलाई पक्राउ गर्नेलाई ५० लाख डलर पुरस्कार दिनेसमेत जनाएको छ। –एजेन्सी