-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पदबाट हटाउने चलखेल सुरु भएको छ । 

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा दृढ देखिएका साउदले पछिल्लो समय कतिपय कम्पनीको विवादको बिषयमा लिएको अडान र बजारका गिरोहहरुप्रति गरेको बेवास्तालाई आधार बनाई संगठित गिरोहले उनलाई हटाउने चलखेल सुरु गरेको हो । 

अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र अन्य सम्बद्ध निकायका स्रोतहरुबाट प्राप्त जानकारीअनुसार सेयर बजारमा वर्षौदेखि चलखेल गर्दै आएको संगठित गिरोहले उच्च राजनीतिक पहुँचको दुरुपयोग गर्दै नेप्से प्रमुख साउदलाई हटाउने रणनीतिका साथ गतिविधि संचालन गर्न थालेको छ । 

कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात गरे पनि लगानीकर्ताले भने यसको साँचो अझै नपाउनुको पछाडि यस्तै गिरोहको असहयोग र चलखेल प्रमुख कारण रहेको स्रोत दाबी गर्छ । 

भरसक अनलाइन कारोबार प्रणालीलाई लथालिङ्ग बनाई असफल पारिदिने र यसैको जगमा टेकेर साउदलाई असक्षम प्रमाणित गरी नेप्सेमा आफू अनुकुलको नयाँ सीइओ ल्याउने गरी चलखेल सुरु भएको छ । 

‘यही ग्राण्ड डिजाइनअन्तर्गत सेयर बजारको संगठित गिरोहरुले बाम गठबन्धनसँग सम्बद्ध २ पूर्व अर्थमन्त्रीसँग गोप्य बैठक गरिसकेको छ ।’ स्रोतले भन्यो–‘ती बैठकमा साउद नेप्सेको नेतृत्वमा आएपछि लगानीकर्ताको करोडौं स्वाहा भएको, सोझा लगानीकर्तालाई डूबाउने काम भएको भन्ने खालका आरोपहरु प्रस्तुत गरिएका थिए ।’ 

पूर्व अर्थमन्त्रीहरुले समेत कांग्रेस नेतृत्वको सरकारबाट नियुक्त साउदको विकल्पको रुपमा सोच्न सकिने संकेत दिएका ती दुवै बैठकमा सहभागी स्रोतले दाबी गरेको छ । 

नेप्सेको सीइओमा नियुक्त हुनुअघि साउदका केही विवादास्पद छविहरु बाहिर आएका थिए । ती बिषयमा साउदले प्रारम्भदेखि कडा प्रतिवाद गर्दै आएका छन् । अनेकन चलखेल र प्रयासपछि पनि साउदलाई सीइओ बन्ने बाटो रोक्ने काम गर्न नसकेपछि त्यसबेला उनकै प्रतिस्पर्धी रहेकाहरुले समेत उनीविरुद्ध माहौल सिर्जना गर्ने कार्यमा सहयोग गरिरहेका स्रोतहरुले दाबी गरेका छन् । 

यो चलखेलमा लगानीकर्तासँग सम्बद्ध संगठनका केही नेता समेत हात धोएर लागिपरेका छन् । स्रोतहरुका अनुसार ती नेताहरुले अर्थमन्त्री डा. युवराज खतिवडा र बाम गठबन्धनका नेतासँगको सामीप्यताको फाइदा उठाउँदै यो वा त्यो बाहानामा साउदलाई सीइओको कुर्सीबाट हटाउने चलखेल गरिरहेका छन् । आवरणमा लगानीकर्ताको नेता भनिए पनि त्यस्ता केही नेता नेपाली सेयर बजारमा वर्षौदेखि चलखेल गर्ने गिरोहका सदस्यको रुपमा समेत चिनिन्छन् । ती नेताहरुले नेपाल बैंकको एफपीओ समेत गैरकानूनी रुपमा खरीद गरेका थिए । उनीहरुले पछिल्लो समय यो वा त्यो बाहानामा साउदलाई दवाब दिने, पेल्ने, थर्काउने, धम्क्याउने काम पनि गरिरहेका स्रोत दाबी गर्छ । ‘ती नेताहरुले आफू अनुकुल नभए साउदलाई हटाउने धम्की समेत दिने गरेका छन् ।’ स्रोतले भन्यो–‘कतिपय बिषयमा लगानीकर्ताका चलखेल गर्न माहिर ती नेताहरुको लाइनविपरीत साउद उभिदिएपछि र दृढ बनिदिएपछि उनीविरुद्ध झनै बढी आक्रोशित बनेर हटाउने चलखेल सुरु गरिएको छ ।’ 

अर्थमन्त्री निकट एक उच्च स्रोतका अनुसार साउदको विकल्पको बिषयमा सोच्न र उनीविरुद्धको माहौल सिर्जना गरी उनलाई हटाउनेसम्मको प्रस्ताव लिएर लगानीकर्ता नेताको नेतृत्वको एक गिरोह दुईपटकसम्म पुगिसकेको छ । अर्थमन्त्री समेत साउदप्रति खासै उदार देखिएका छैनन् । उनले बाम गठबन्धनको सरकारले समेत साउद लगायतका कांग्रेस सरकारबाट नियुक्त भएकाहरुलाई हटाउन खोजेको, तर अदालतका कारण उनीहरुको पुनर्बहाली भएको बताउने गरेका छन् । 

अर्थमन्त्रीले साउदलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीकै शैलीबाट हटाउन सकिने भन्दै त्यस्तो माहौल बनाउन सकिए मात्र हटाउन संभव हुने भनी ग्रीन सिग्नल दिएका सो गिरोहका सदस्यहरुको बुझाई छ । 

स्वयम् साउदले समेत पछिल्लो समय आफूविरुद्ध चलखेल सुरु भएको संकेत पाएका हुन् कि भन्ने उनका पछिल्ला केही अभिव्यक्तिबाट बुझ्न सकिन्छ । केही दिनअघि बिजशालालाई उनले दिएको अन्तर्वार्ताको क्रममा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई केही गिरोहहरुले असफल बनाउने चलखेल गरिरहेका भन्दै उनले त्यस्तो चलखेल असफल बनाइदिने दृढता व्यक्त गरेका थिए । 

त्यसो त हालै एभरेष्ट इन्स्योरेन्सको मूल्य समायोजनको बिषयमा देखिएको विवादमा साउदले सुरुवाती दिनहरुमा मूल्य समायोजन फिर्ता नहुने र त्यो कानून सम्मत रहेको बताउने गरेका थिए । तर, चौतर्फी दवाबपछि उनी एकाएक यूटर्न भई एभरेष्टको मूल्य समायोजन सम्बन्धी निर्णय नै फिर्ता लिन बाध्य भए । यो प्रकरणमा समेत उनलाई यस्तै केही गिरोहहरुको थामिनसक्नु दवाब परेको र यही बिषयको चूरो बुझेर उनी एककदम पछाडि हटेका नेप्सेस्थित स्रोत दाबी गर्छ । 

त्यसो त नेपाल बैंकको एफपीओ प्रकरणमा समेत साउदले लिएको अडानले धेरै सेयर खेलाडी र गिरोहको होस उडेको थियो । 

सेयर बजारलाई मिडिया र सत्ताको प्रयोग गर्दै पैसा कमाउने चलखेलमा लागेका केही झूण्डले बजारलाई उनीहरुकै चाहना अनुरुप नै घटाउन बढाउन सक्रियता बढाइरहँदा कतिपय अवस्थामा साउदको अडान तगारो बनिदिन थालेको छ भने अनलाइन प्रणाली सफल हुँदा साउद नेपाली सेयरबजारकै हिरोको रुपमा स्थापित हुने भयले समेत यस्ता गिरोहहरु सशंकित देखिएका छन् । 

यिनै गिरोहहरुको ग्राण्ड डिजाइनमा नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा भएको १९ करोड बढी खर्चको बिषय भोलिका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्नसक्ने संकेत समेत हाम्रा स्रोतहरुले दिएका छन् । नेपाल टेलिकमकी प्रबन्धक निर्देशक कामिनी राजभण्डारीलाई पनि यही शैलीमा हटाउन सरकार सफल भएको थियो । उनीविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुनियोजित रुपमा उजुरी दिने काम गरिएको थियो । भ्रष्टाचारको आरोपसँगै असक्षमताको आरोप लगाउँदै सरकारले स्पष्टीकरण सोधी तथा आवश्यक प्रक्रिया पूरा गरी उनलाई हटाएको थियो । सरकारले प्रक्रिया पूरा गरेरै हटाएका कारण उनले अदालतमा पुनर्बहालीका लागि दिएको रिट समेत खारेज भएको थियो ।