काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहँदा विद्यार्थीहरुले नेपाल आयल निगम अगाडि आन्दोलन गरिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने चौतर्फी माग भइरहेको बेला मूल्य अझै बढ्नसक्ने संभावना देखिएको छ । 

नेपालले भारतबाट पेट्रोलियम पदार्थ खरीद गर्दै आइरहेको छ । भारतले खरीद गर्ने कच्चा तेलमध्ये सबैभन्दा धेरै परिमाण साउदी अरेबियाबाट ल्याउने गर्दछ । पछिल्लो समय साउदी अरेबियासँग भारतको सम्बन्ध बिग्रिएको छ, जसका कारण साउदी अरेबियाले भारतलाई बिक्री गर्ने कच्चा तेलको मूल्य मई महिनाबाट २० देखि ३० प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो घोषणाले भारतले आयात गर्ने कच्चा तेलको लागत मूल्य ३० प्रतिशतसम्म बढ्नेछ, जसको सोझो असर नेपालमा पर्ने देखिएको छ । 

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार साउदी अरेबियाले मई महिनाबाट लागू हुने गरी एशियाली देशहरुमा निर्यात गरिने कच्चा तेलको मूल्यमा भारी वृद्धिको निर्णय गरेको छ । तर, साउदीले यूरोपमा पठाउने कच्चा तेलको मूल्यमा पनि कुनै परिवर्तन गरेको छैन । यसरी एशियाली देशहरुमा मात्र निर्यात हुने तेलको मूल्य बढाउनुलाई भारतमाथि साउदी अरबको प्रहारको रुपमा बुझ्नसकिने विश्लेषकहरुले बताएका छन् । 

साउदीको ठूलो तेल कम्पनी आराम्कोले भारत निर्यात हुने क्रूडको मूल्य ३० प्रतिशतसम्म बढाएको ब्लुमबर्गले जनाएको छ । नेपालले ल्याउने तेल भारतमा प्रशोधनपछि आउने गर्छ । कच्चा तेलकै लागत बढेपछि नेपालमा आउने तेलको मूल्य पनि भारतले बढाउनेछ । जसको परिणाम नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाउने देखिएको हो ।