काठमाण्डौ। नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीका लागि गरिएको उडानका सिलसिलमा अत्याधिक भाडा तथा केही एजेन्सीहरुले अत्याधिक अतिरिक्त रकम लिएको भन्ने विषयमा केही अनलाइनलगायत मिडियामा प्रकाशित र प्रसारित समाचारप्रति हिमालय एअरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एअरलाइन्सले बुधबार विज्ञप्ति जारी गर्दै ती समाचार असत्य, भ्रामक तथा कपोकल्पित भएको दाबी गरेको छ। 

भारतीय राजदूतावासको विशेष अनुरोधमा नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुका लागि नेपाल सरकारले नेपाल एअरलाइन्सलाई ७ वटा तथा हिमालय एअरलाइन्सलाई ३ वटा उडान गर्ने अनुमति दिएको छ। यो अनुमतिसँगै एअरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रि«ब्युसन सिस्टम) मार्फत यात्रीलाई अत्यन्त सहज होस र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस भनी अन्तर्राष्ट्यि हवाई उद्योग संघ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीहरुले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको हिमालय एअरलाइन्सले जनाएको छ। ‘वर्तमान महामारीमा एकै स्थानमा टिकट बिक्री गर्दा कोभिड सर्ने अत्यन्त जोखिम हुनेहुँदा पनि सो प्रणालीमार्फत टिकट बिक्री गर्नु अनिवार्य थियो’, विज्ञप्तिमा उल्लेख छ। 

सबै एजेन्सीको पहुँचमा भएको विश्वव्यापी टिकट वितरण प्रणालीमार्फत सबै टिकट बिक्री भएको तथा भाडादरहरु सबै पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहुँचमा भएको जानकारी पनि हिमालय एअरलाइन्सले जनाएको छ। ‘यस प्रणाली सम्पूर्ण रुपमा ट्रान्सपेरेन्ट तथा एजेन्सीहरुका माझमा प्रतिस्पर्धात्मक छ, जसबाट यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्न सक्दछ’, विज्ञप्तिमा भनिएको, ‘उक्त उडानहरुले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात फर्किंदा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहन्छ। सामान्यतया एजेन्सीहरुले अत्यधिक शुल्क लिँदैन भन्ने यस एअरलाइन्स्को विश्वास रहेको छ। तथापि कुनै एजेन्सीले कुनै यात्रीसँग अवान्छनीय ढंगले अत्यधिक शुल्क लिएको प्रमाण पेस हुन आएमा आवश्यक कारबाहकिा लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नेछौँ।’

कुनै विषयमा कुनै समाचार प्रकाशन गर्दा सम्बन्धित निकायबाट सत्यतथ्य लिई बुझी समाचार प्रकाशन गरेमा त्यस्ता समाचार जनता, उद्योग, तथा सरकारका लागि लाभदायी हुने तथा सूचना उद्योगको वर्तमान तथा भविष्यको विकासका लागि समेत सहयोगी हुने विज्ञप्तिमा जनाइएको छ। ‘यसका साथै उपरोक्त असत्य, भ्रामक, तथा कपोलकल्पित समाचारलाई बेवास्ता गर्न पनि आदरणीय जनसमुदाय समक्ष विनम्र अनुरोध गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।