– रेखा चन्द

काठमाण्डौ । वाणिज्य बैंकहरुले साउनको बाँकी दिनका लागि ब्याजदर हेरफेर नगर्ने भएको छ। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएन (एनबीए)को शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको ब्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकको सर्कुलरपछि अहिले पनि ब्याजदर परिवर्तन गर्न मिल्छ तर यो महिनालाई कायम गरिएको ब्याजदर नचलाउने बैंकहरुबीच सहमति भएकोले सोहीअनुसार निर्णय भएको हो’, एनबीएका अध्यक्ष अनिलकुमार उपाध्यायले भने। 

राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ। नीतिगत दरहरु परिवर्तन भएपछि बैंकहरुले पनि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको थियो। 

भदौमा कायम गरिने ब्याजदरका विषयमा साउनको अन्तिममा निर्णय गर्ने सहमति भएको अध्यक्ष उपाध्यायले जानकारी दिए। ‘त्यतिबेला नै संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर के गर्ने भनेर निर्णय हुन्छ’, उपाध्यायले भने, ‘घट्न पनि सक्छ, बढ्न पनि सक्छ, त्यो त्यतिबेला नै निर्णय हुन्छ।’