काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ। 

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो। 

साउन अन्तिम ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ।

एनबीएका अनुसार साउन लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ। योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो। 

साउन मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत कायम भएको छ। साउन मसान्तसम्म २६ वटा वाणिज्य बैंकमध्ये ३ वटाको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ भने बाँकी २३ वटाको ९० प्रतिशतभन्दा तल रहेको छ।