– रेखा चन्द

काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले साउन महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ। 

एनबीएको आज बसेको कार्यसमितिले साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। ‘आज बसेको बैठकले असारकै ब्याजदर यथावत राख्ने निर्णय गरेको छ’, एनबीएका सीईओ अनील शर्माले भने। 

शर्माका अनुसार सरकारी खर्च बढिरहेकोले बैंकहरुमा तरलता थपिँदै गएकोले ब्याजदर स्थिर राख्ने निर्णय भएको हो। अर्कोतर्फ मौद्रिक नीतिले आगामी वर्षका लागि गर्ने नीतिगत व्यवस्था हेरेरमात्रै भदौमा बैंक ब्याजदर थपघट गर्ने निर्णयमा बैंकहरु पुगेका छन्। 

वाणिज्य बैंकहरुले गत माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन्। जसअनुसार साउनमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन्। रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन्।