२०७५ को लगभग पूरै साल नेपालको बजारमा अप्स र डाउनको सिक्वेन्स चलिरह्यो । मोटामोटी हेर्ने हो भने यसअघिको वर्ष बजार जहाँ थियो, अहिले पनि त्यही लेभलमा देखिन्छ । प्रतिशतको हिसाबले हेर्दा बजार १६ प्रतिशत हाईबाट डाउन भएको देखिन्छ, यो भनेको अप्रीलबाट अप्रीलसम्मको अवधिलाई हेरेर भनिएको हो । 

यो अवधिमा बजार निकै भोलाटाइल पनि देखियो । २०७५ सालमा समग्रमा लगानीकर्ताको आँखाबाट हेर्दा बजार नेगेटिभ दिशामै रह्यो ।

यो साल के होला ?
बजार परिसूचक २०१६ को अगस्टमा ११०० को विन्दूमा टपआउट भयो, २०१७ को अगस्टमा पनि टपआउट भयो, अर्थात हाई विन्दू लगाएर बजार तल आउन सुरु गर्यो । २०१६ बाट लिने हो भने अढाई वर्ष र २०१७ बाट लिने हो भने डेढ वर्षको अवधि देखिन्छ । बजार ११०० को विन्दू छोएर अगाडि बढेको अवस्था छ । 

यो वर्षको हाफसम्म, आउने साउन अन्तिमसम्म बजार उभो लाग्ने देखेको छु । यो अवधिमा २५ प्रतिशतसम्म बजारले रिटर्न दिन्छ । 

दोश्रो हाफदेखि बजारले फेरि गिरावटको यात्रा सुरु गर्न सक्छ । फस्ट हाफमा बजारमा राम्रो राइज आउँछ भन्ने देखिन्छ । 

यसपटकको नेप्से इण्डेक्सको राइजमा सकारात्मक कुरा बढी छन् । बैंकिङ इण्डेक्सले लङटर्म यात्रा गरेको देखिन्छ । बैंकिङ इण्डेक्स नेप्सेमा बढी वेटेज भएको इण्डेक्स भएकोले समेत यसको सस्टेनेवल ग्रोथले बजारमा राम्रै संकेत गरेको छ । यसले बजारमा पोजिटिभ टर्न भइसकेको संकेत गरिसकेको छ । यो टर्नलाई हेर्ने भने केही समय बजारले ढुलमुल गरे पनि अल्टिमेटम १४०० माथि पुग्छ । 

जुलाई अगस्टसम्ममा १४५० सम्म जानुपर्छ । यसमा ५० अंकको तलमाथि हुनसक्छ।

केही समयअघिको बजारलाई हेर्दा नेप्से परिसूचक ११०० बाट ११६६ सम्म पुग्यो, त्यसको करेक्सन भएर ११३० मा झर्यो । फेरि बढेर ११९७ लगायो । यो बजार अब धेरै खस्यो भने ११६० देखि तल जाँदैन । त्यसपछि बजार अगाडि बढ्यो भने १२७० देखि लिएर १३०० सम्म पुग्नसक्छ । १३०० पछि एकपटक बजार १२०० सम्म आउनेछ, त्यसपछि बजारले १४०० विन्दूको यात्रा तय गर्ने अनुमान गर्न सकिन्छ ।

कुन समूहमा कम जोखिम ?
फ्रस्ट हाफको पब्लिक सेन्टिमेन्ट राम्रो छ । फस्ट हाफपछि उकालो लाग्छ, बजारमा त्यसपछि करेक्सन आउँछ, कतिसम्म आउँछ भन्ने कुरा बढेर कति पुग्छ, त्यसपछि मात्र भन्न सकिन्छ ।

यो अवधिमा हाइड्रोपावरलाई छाडेर सबै समूहको सूचक सिग्नीफिकेन्ट्ली रुपमा अगाडि बढ्छन् । बिमा, माइक्रोफाइनान्सलाई ट्रेडिङ एक्टिभिटीमा मात्र सीमित गर्नु लाभदायी देखिन्छ । किनभने यी क्षेत्रमा हाई गेनसँगै हाई रिस्क पनि छ । सेफ साइडमा बसेर प्ले गर्न चाहनुहुन्छ भने बैंक, विकास बैंक र वित्त कम्पनी नै उपयुक्त र भरपर्दा हुन् । तर, हाई रिस्क प्ले गर्न चाहनेका लागि भने बिमा र माइक्रोफाइनान्स नै हो ।

फण्डामेन्टल र टेक्निकल: एकअर्काका परिपूरक
हामी प्राविधिक विश्लेषकहरु विगतको डेटाको आधारमा भविष्यको प्रक्षेपण गर्ने गर्छौ । नेपालमा प्राविधिक विश्लेषकप्रतिको धारणा त्यति सुखद छैन, लाइन मात्र हेर्छन भनिन्छ, जुन गलत हो । ती लाइनमा पनि सूचना हुन्छ भन्ने कुरा बिर्सनु हुन्न । 

पुरानो प्राइस र भोल्युमको डेटा हेरेर हामीले प्रक्षेपण गर्ने हो । फण्डामेन्टलले पनि विगतको डेटा हेरेर प्रक्षेपण गर्छन, त्यो पनि एकखालको प्राविधिक विश्लेषण नै हो ।  

मानिसहरुले फण्डामेन्टल र टेक्निकल एनलिसिसलाई एकअर्काको विरोधाभासको रुपमा लिन्छन्, जुन गलत हो । फण्डामेन्टल र टेक्निकल विश्लेषण एकअर्काका परिपूरक हुन । बरु टेक्निकल चार्टमा फण्डामेन्टलको रिफ्लेक्ट भइरहेको हुन्छ ।  यी दुईलाई एकअर्काको पूरक बनाइयो भने राम्रो विश्लेषण आउनसक्छ, गर्न सकिन्छ । टेक्निकल विश्लेषणमा फण्डामेन्टलको कुरा पनि समेटिएका हुन्छन् । 

कतिपयले बजार कम्पनीको इपिएस, कमाई वा कुनै समाचारका कारण चल्छ भन्छन्, तर म यो मान्दिँन । हाम्रो बजार मास साइक्लोजीमा चलेको हुन्छ । मास साइक्लोजी जता छ, त्यतै लाग्ने प्रवृति छ । यसकारण सबै मास साइक्लोजीले ड्राइभ गर्ने बजार हो । 

त्यसलाई रिड गर्ने केही आधार चाहिन्छ । त्यसका लागि प्राइसको प्याटर्न र भोल्युमको प्याटर्नबाट चार्ट बनाउने हो । टेक्निकल चार्टले हामीलाई धेरै कुरा भनिसकेको हुन्छ । कुनै कम्पनीको आउने वर्ष कमाई कति हुन्छ, उसको अवस्था खराब बन्छ कि सुखद, यी सबै कुरा प्राविधिक चार्टले तय गरिसकेको हुन्छ । त्यसकारण पनि टेक्निकल चार्ट बढी विश्वसनीय हुन्छ, मानिन्छ । हामी टेक्निकल विश्लेषकहरु बजारको ट्रेण्ड फलोआर मात्र हौ ।

अन्तमा, मेरा समस्त पाठक र फलोअरहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना । आफ्नो रिस्क अपेटाइट हेरेर मात्र लगानी गर्नुहोला । कुरा सबैको सुन्नुहोस्, विश्लेषण आफैं गरेर मात्र बजारमा लगानी गर्नुहोस् ।

(प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल मार्केटपण्डित पोर्टफोलियो म्यानेजमेन्ट एण्ड एड्भाइजरी कम्पनीको प्रबन्ध निर्देशक समेत हुन् ।)