काठमाण्डौ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि आजशुक्रबारदेखि टिकट बिक्री शुरु गरिनेछ ।

मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो । सागमा कास्कीको पोखरामा आठ खेल हुँदैछन् । टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ ।

साधारणतर्फ रु १०० र सिजनलतर्फ रु ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिनुभयो । यसैगरी बिच भलिबलको टिकट दर रु २०० तय गरिएको छ ।

पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ । पोखरामा हुने विभिन्न आठ खेलका लागि ८४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् ।

पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ । नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ ।

पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बिच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिनुभयो ।

ट्रायथलनको तयारी अन्तिम चरणमा तेह्रौँ सागअन्तर्गत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भइसकेको र आवश्यक सामग्री सबै खेलस्थलमा पुगिसकेको जिल्ला ट्रायथलन सङ्घका सचिव प्रकाश बरालले जानकारी दिनुभयो ।

फेवातालमा पौडीका लागि प्लाष्टिकका ब्लक हाल्ने काम सकिएको छ । यहाँ पुरुष र महिला पौडी, २० किलोमिटरको साइक्लिङ र पाँच किलिमिटरको दौड हुनेछ । प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।