काठमाण्डौ । भ्रष्टाचारको आरोपमा पटक पटक अख्तियारको छड्केमा पर्ने गरेका र नागरिक समाजको आवरणमा गलत काम गर्ने गरेको आरोप समेत खेप्दै आएका साझा यातायातका अध्यक्ष तथा हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ ।

‘दीक्षितविरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने’ भन्दै अख्तियारले उनलाई शुक्रबार दिउँसो करिब २ः१५ बजे पाटनढोकाबाट नियन्त्रणमा लिएको हो । 

अख्तियारले ठूला माछा पक्रने चर्चा चलिरहेको बेला दीक्षितलाई पक्राउ गरेको हो । यसअघि अख्तियारले कानूनी प्रक्रिया पूरा नगरी दीक्षितसँग सम्पत्ति विवरण माग गरेको भन्दै दीक्षितले सर्वोच्चमा रिट दायर गरेका थिए । उनलाई यसअघि अख्तियारले टंगालस्थित कार्यालयमा बयानका लागि समेत बोलाएको थियो । त्यसबेला उनले अख्तियारको कदमको विरोध गर्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएका थिए । 

दीक्षित निकट स्रोतका अनुसार उनले अख्तियारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा  सुनुवाई गर्दै अदालतलले ‘कानूनको अख्तियारी र प्रयोजन नखुलाई कसैलाई अनुसन्धानको नाममा अन्य कुनै कारवाही गर्न मिल्दैन’ भनेको थियो । 

अख्तियारले दीक्षितलाई नियन्त्रणमा लिने क्रममा उनले सो कदमको त्यहाँ पनि विरोध गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा अख्तियारको टोलीसँगै उपस्थित संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै दीक्षितले आफूलाई राजा ज्ञानेन्द्रको पालामा जुन ठाउँबाट पक्राउ गरिएको थियो, लोकमान सिंह कार्कीले समेत त्यही ठाउँबाट पक्राउ गर्न टोली पठाएका भन्दै विरोध गरेका थिए । उनको दुईवटा पक्राउको रमाइलो संयोग समेत जुरेको छ । राजाको शासनकालमा उनलाई पक्राउ गर्दा नेपाल सरकारको मुख्यसचिव पनि लोकमानसिंह कार्की नै थिए । 

यी हुन दीक्षितमाथिका आरोप
अख्तियारले साझा यातायातका अध्यक्ष दीक्षितले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेका, संस्थामा आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्तिसरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको र परिवारका नाममा समेत राखेको, संयुक्त राज्य अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको र स्वर्गीय मदन शम्सेर राणा र उनकी  श्रीमती जगदम्बा राणाका नाममा रहेका चल–अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको लगायतका आरोप लगाएको छ । 

आयोग स्रोतका अनुसार दीक्षितलाई गत मंसिर १७ गते अख्तियारमा उपस्थित हुन भनिएकोमा पुस २४ गते आयोगमा उपस्थित भई आयोगले उपलब्ध गराएको सम्पत्ति विवरण फारम बुझेका थिए । तर उनले बुझाएको सम्पत्ती विवरण फर्जी भएको अख्तियारले दाबी गरेको छ । उनले गत पुस ३० गते बुझाएको फारामबारे अख्तियारले भनेको छ–‘आयोगको अनुसन्धानका क्रममा निज दिक्षितले सो सम्पत्ति विवरणमा उल्लेख गरेको आफ्ना एवम् परिवारका नाममा रहेको चलअचल सम्पत्ति, बैंक खाता लगायतका विवरणहरु यकिनका लागि सम्बद्ध निकायहरुमा पत्राचार गरिएको र सोबाट संकलित कागजात एवम् विवरण, निजले आयोगमा उपलब्ध गराएको सम्पत्ति विवरणसँग मेल खाएको देखिएन।’

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले अनुसन्धानका सिलसिलामा उनीविरुद्धका थप प्रमाणहरु समेत फेला परेका छन् । उनले बुझाएको सम्पत्ति विवरण शंकास्पद देखिएपछि पटक पटक थप स्पष्ट पार्न आयोग बोलाउँदा समेत अटेर गरी नगएका पुस्करले दाबी गरेका छन् । पुस्करले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘आयोगमा उपस्थितिका लागि सम्बन्धित अनुसन्धान अधिकृतद्वारा पटक–पटक टेलिफोन तथा पत्राचार गरी सूचित गर्दा समेत सो को अवज्ञा गर्दै उहाँले आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराई कानूनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्याआएको हुनाले, उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१) को (ग) को कानूनी प्रावधान अनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निज उपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ।’