उषा सापकोटा साझा बसकी सहचालक हुन् । विगत एक वर्षदेखि उनी यो भूमिकामा छिन् । ‘कामलाई इज्जत गर्नुपर्छ अनि पो कामले पनि इज्जत गर्छ नि’ भन्ने उषा हरेक कामलाई फरक तरिकाले गर्नुपर्छ भन्छिन् । उनी कलात्मक काम गर्न पनि रुचि राख्छिन् । फुर्सदको समयमा उनी कलाकर्ममा आफूलाई व्यस्त राख्छिन् । कागजबाट सजावटका सामान बनाउने, कविता कथा लेख्ने उनको रहरको काम हो । गायक बन्ने सपना बोकेकी उनी अहिले साझा बसमा सपना बुनिरहेकी छिन् ।

कलिलै उमेरमा धेरै उतारचढाव र अप्ठेराहरु झेलेकी उषाको जीवनको संघर्ष कथाः
मेरो जन्म २०५५ सालमा भएको हो । जन्मेको छ सात बर्षसम्म त रमाइलोमै बित्यो बाल्यकाल । जब संयुक्त परिवारबाट हामी भिन्न भयौं तब केही फरक पर्नथाल्यो । बाबाले घरव्यवहार सम्हाल्न खासै जान्नुहुन्नथ्यो । सबै व्यवहारको जिम्मा ममीको हुने । पुरुषले घरव्यवहार हेर्नु र महिलाले सम्हाल्नुमा फरक पर्दोरैछ । परिवारमा असहज परिस्थितिहरु आउन थालेपछि कमाउनका लागि बाबा इण्डिया जानुभयो ।

घरमा गाईभैंसी पालिएको थियो । घरमा ममीलाई काममा सहयोग गरेर स्कुल जान्थेँ । सानैबाट काम गर्ने बानी थियो मेरो ।

स्कुल पढ्दा विज्ञान, गणित र अंग्रेजी विषयमा रुचि थियो । स्कुलमा कक्षा १ देखि ८ सम्म त म फस्र्ट गर्ल नै थिएँ । पढाइ नै माथि पुर्याउने चाहना थियो मेरो । तर, अहिले पढाइ रोकिएको छ । मेरो त विज्ञान पढ्ने सोंच थियो ।

मलाइ संगीत सिक्न र गाउन धेरै मनपर्छ । गायक बन्छु भविष्यमा भन्ने मनमा थियो । मसँग ५० प्रतिशत क्षमता छ, बाँकी सिक्छु भन्ने लाग्थ्यो । १० कक्षासम्म पढाइ भनेर नै संगीत सिक्न पाइएन । पछि आवश्यकताले जागिरतिर तानेर लग्यो अनि यो रहरमा बिराम लाग्यो ।

संगीतका लागि प्रयास नगरेको पनि होइन । सिक्न त ४ महिना भोकल क्लास लिएको हुँ । पछि निरन्तरता दिन सकिएन । काममा नै लाग्दै सबै रहर इच्छाहरु गुमनाम भए ।

मलाई लेख्न, घुम्न अनि राति एक्लै बस्न मनपर्छ । 

कमाउन परेपछि अरु कुरा छायाँमा पर्नेरहेछ । कक्षा ६ पढ्दादेखि नै मेलापात गरियो ज्यालादारीमा, घरको समस्याले गर्दा ।

एसएलसी परीक्षा दिएपछि पनि म घर बनाउन मजदुरी गर्न गएको थिएँ । १५ दिन जति काम गरेको थिएँ । भुकम्प आयो २०७२ बैशाख १२ मा।
त्यो कामबाट मैले ४ हजार ५ सय कमाइ गरेको थिएँ । घरखर्च चलाउन नै प्रयोग गरेँ मेरो पहिलो कमाइ ।

एसएलसी पछि मेरो परिवार लुभु बसाइ सर्यो । सुरुसुरुमा पत्रिकामा विज्ञापन पढेर काम खोजेको थिएँ । मार्केटिङको काम परेछ ।

यही बेलामा बुबा भारतमा सम्पर्कविहीन हुनुभयो । बहिनी ९ कक्षामा पढ्थिन् । घर चलाउन काम त खोज्नैपर्नेथ्यो । घरमा त जसोतसो मिलाएर काममा जान थालेँ । 

जसो परे नि गर्छु भनेर गएँ । घरघरमा गएर सामान बेच्नुपर्ने । सुरुमा नरमाइलो पनि लाग्यो । अनि घर सम्झेँ, आवश्यकता सम्झेँ र काममा गएँ ।

दिनभर चर्को घाममा हिँड्दा पनि खासै सामान बिक्री नहुने भयो । मार्केटिङबाट केही नहुने देखेपछि इमाडोलमा एउटा कफीशपमा काम गर्न थालेँ । २०७२ मंसिरमा त्यो काम सुरु गरेको । बिहानै ६ बजेदेखि साँझ ६ बजेसम्म काम गर्नुपथ्र्यो । मासिक तलब ५ हजार पाउँथेँ ।

घरभाडा पनि तिर्न नपुग्ने कमाइले केही नहुने भएपछि मैले विकल्प खोजेँ । त्यो काम पनि २ महिना मात्र गरेँ ।

अनि एउटा घरमा काम गर्न थालेँ । 

त्यही घरमा बस्ने, त्यहीँ काम गर्ने । उनीहरुले मैले भनेको जति पढाइदिन्छु भने । एक त पढ्ने रहर थियो भने अर्को आफ्नो पढाइको लागि जुटाउन सक्ने पैसा थिएन । कुरा त सही लाग्यो, ममीलाई चिनजान गराएँ अनि त्यहीँ बस्न थालेँ ।

मेरो सोचमा थियो, त्यहाँ बसेर म पढ्छु । मेरो पढाइको लागि घरको खर्च लाग्दैन । म यतैतिर अर्को काम पनि गरेर घरमा पैसा पठाउँछु । यस्तै सोचेर मैले त्यहीँ बस्ने निर्णय गरेँ ।

त्यही हँुदा नै आयल निगममा एक बर्ष जागिर पनि गरेँ ।

तर घर छोडेपछि खै के भयो, डिप्रेसन भयो मलाई । म रातभरि निन्द्रा नलाग्ने, मर्न मन लाग्ने, जोगी बन्ने, कोही छैन एक्लै छु जस्तो हुने गर्न थालेछु ।

जीवनमा सबैभन्दा दुःख लागेको पल थियो मेरो लागि । कास मैले त म बाँच्छु भन्ने आशा पनि गुमाइसकेकी थिएँ । सबैभन्दा सम्झिन मन नलाग्ने समय हो मेरो लागि त्यो ।

म भित्रभित्रै गलिसकेकी थिएँ । पढाइ पनि पूरा हुन पाएन ।

१२ पढदै गर्दा काम गरेको आयल निगममा । टेक्निसियन पदमा । ज्यालादारीमा काम गरेको थिएँ । जिएम चेन्ज भयो, मलाई निकालिदियो । फेरि सोधपुछ गरेर अनुरोध गरेँ । काम फेरि सुरु भयो । पछि फेरि मन्त्री चेन्ज भए अनि फेरि मेरो जागिर गयो ।

अनि लाग्यो जब आफ्नो जागिर आफ्नो हातमा छैन त त्यो जागिर के खानु । अनि काममा जान मन लागेन ।

पछि, लोकसेवा दिएरै खुला महिलामा नाम पनि निकालेँ । अन्तरवार्तापछि मेरो नाम पत्रिकामा छापिएन ।

त्यतिबेला एउटा सपना देख्न थालिसकेको थिएँ । यस्तो धोका दियो कि त्यो सपनाले म वर्णन पनि गर्न सक्दिनँ । हुन त पास हुनैपर्छ भनेर भन्न मैले मिल्दैन तर महिलामध्ये खुला महिलामा पास हुने म मात्र थिएँ । पैसा पुगेन या पावर, म जान्दिनँ ।

त्यो खबर सुनेको दिनमा म बिराटनगरमा थिएँ ।

कति रोएँ त्यो दिन । फेरि गहिरो डिप्रेसनमा पुगेँ म । एक्लै बस्थेँ ।

पछि जचाएर दबाइ खान थालेँ । 

अब त्यो एउटा दिन थियो जुन मलाई सपनामा पनि सम्झिन मन लाग्दैन । मलाई सारै दिक्क लाग्यो । त्यसपछि काम गरिराखेको त्यो घर पनि छोड्ने निर्णय गरेँ ।

२०७२ माघ १० गते आइतबार म त्यो घरमा गएको थिएँ । २०७५ फागुन २९ गते फेरि लुभु नै फर्केँ ।

घर आएपछि डिप्रेसनको दबाइ पनि खान छोडेँ । कहिलेकाहीँ निद्रा नलाग्दा मात्र खान्थेँ ।

ममी र बहिनीको केयरले म ठीक हुँदै थिएँ । अनि मानभवन जावलाखेलको एउटा सहकारीमा काम गर्न थालेँ ।

त्यहाँ पनि साह्रैगाह्रो लाग्यो काम । दिनभरि घाममा हिँड्यो, तलब ८ हजार ।
तालिममा जाँदा त ठिकै थियो ।

पछि ड्युटी गर्न थालेपछि हिँड्दा हिँड्दा धेरै थाकिसक्थेँ । दिनभरि सकिनसकी काम गर्थेँ । बेलुका गोडा दुखेर रुन्थे ।

फेरि मेरो काम गर्नुपर्ने क्षेत्र धेरै थियो । झण्डै २ सय घर पुग्नुपथ्र्यो ।

टाढाटाढा थिए घरहरु पनि । 

१२–१५ दिन जति गरेँ होला । त्यहाँ पनि गर्न सकिनँ अनि फेरि एउटा मन्टेश्वरीमा टिचरको काम पाएँ । काम सुरु गरेको एक साता भएपछि म बिरामी भएँ । ९ हजारजति तलब पाउने भएको थिएँ । बिरामी भएर विदा मागेको त बिदा चाहिए निस्केर जानू भन्ने आदेश पो पाएँ । 

विदेशका लागि पनि प्रयास गरिरहेकाले मैले छोड्ने नै सोचेँ । एक साताको एक हजार पाएँ । त्यो पैसा लिएर बाहिर निस्केको के थिएँ, अर्को एक हजारको नोट भेट्टाएँ ।

एउटा खुसी ।

त्यो २ हजारले घरमा ठूलो काम गरेको थियो ।

त्यसपछि सेक्युरिटी गार्डको काम गर्नका लागि लुभुमै एकजनासँग कुरा गरेँ । उहाँकै सिफारिसमा अर्को अफिसमा काम पाएँ । एउटा हस्पिटलमा मेरो पोस्टिङ् भएको थियो तर महिला नराख्ने भयो उक्त हस्पिटलले । 

मेरो तनाव सुरु भयो फेरि ।

अनि, अफिसकै रिसेप्सनमा बस्दै जहाँजहाँ खाली हुन्छ त्यहाँ गएर ड्युटी गर्न थालेँ । एक महिनासम्म विभिन्न स्थानमा गार्ड भएर काम गरेँ । अनि यसरी त भएन जस्तो लाग्यो र मैले अफिसमा भनेँ, म साझा बसको सहचालक हुन जान्छु । गर्न सक्छौ भने जाऊ भन्नुभयो अफिसबाट ।

मेरो ठाउँमा बहिनीलाई काम लगाएर म साझामा गएको हो । यसरी म साझा बसको सहचालक हुन आइपुगेँ । अहिले यो काम गरेको पनि एक वर्ष बढी भइसक्यो ।

आइ लव दिस जब । खै किन हो मलाई रमाइलो लाग्छ । हरेकपल फ्रेस हुन पाइन्छ, एक्टिव भइन्छ । कमाइ पनि सन्तोषजनक नै छ ।

मेरो जीवनमा लक्ष्य काम अनुसार बदलिँदै गयो । पहिला आयल निगममा हुँदा उतै स्थायी हुन्छु भन्ने लाग्थ्यो । पछि टिचर हुँदा पनि राम्रो गर्छु यसमै भन्ने लाग्यो । अब अहिले सहचालक छु, पर्फेक्ट ड्राइवर बन्छु भन्ने लागेको छ ।

मलाई केही असहज लाग्दैन यो काममा । रातिसम्म काम पर्दा बेलुकी घर जान चाहिँ अलिक तनाव हुन्छ । एक्लै पर्छु, कहिले त घर जाने बस पनि पाउँदिनँ । 

काम ठूलो सानो हुँदैन । हाम्रो मानसिकता हो ठूलो सानो भनेको । काम जे भेटछौं  त्यही गर्दा हुन्छ भलै त्यसले राम्रो स्थानमा नपुर्याउला तर राम्रो ज्ञान अवश्य पनि दिन्छ । संघर्ष गर्न सिकाउँछ मेहनत गर्न सिकाउँँछ अनि सबै काम गर्ने लाई सम्मान गर्न सिकाउँछ ।

मलाइ दुःख कहिले पनि दुःखजस्तो लागेन । एउटा शिक्षा मानेर सहजै स्वीकारेँ ।