काठमाण्डौ। सेयर धितो कर्जाको सीमाको व्यवस्था खारेजीसहितका विभिन्न माग राख्दै संघर्षमा उत्रिएका लगानीकर्ताहरुको आन्दोलन तुहिने अवस्थामा पुगेको छ । 

विभिन्न १८ सूत्रीय माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिको नाममा सुरु भएको आन्दोलन एक हप्तामै तुहिने अवस्थामा पुगेको हो । 

लगानीकर्ताहरुले गत भदौ २३ गतेबाट माइतीघर मण्डलामा २ घन्टे रिलेसन अनसन सुरु गरेका थिए। माग पूरा नभए भदौ ३० गतेबाट आमरण अनसन सुरु गर्ने उनीहरुले चेतावनी दिएका थिए। यो समाचार तयार पार्दासम्म(बुधबार ६ः५४ बजेसम्म) उनीहरुले राखेका कुनै पनि माग पूरा भएको छैन, तर उनीहरुले एकाएक पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। लगानीकर्ताहरुले बनाएको नयाँ यो समूहमा स्वार्थ समूह समेत मिसिएका कारण फूट आई समग्र आन्दोलन नै तुहिने अवस्थामा पुगेको हो । 

रिले अनशन सुरु गर्नुभन्दा २ दिनअघि पुतलीसडकबाट भेला भई लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका थिए। त्यहाँ राष्ट्र बैंकका प्रवक्तालाई १८ बुँदे ज्ञापनपत्र पनि बुझाए। तर माग सुनुवाइ नभएको भन्दै उनीहरुले रिले अनसन सुरु गरेका थिए। 

अनसनकै क्रममा नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले वार्तामा बोलाएको भन्दै आन्दोलनकारी लगानीकर्ताहरुले विभिन्न माध्यमबाट हौवा पनि पिटेका थिए। तर वार्तामा के–के भयो त भन्ने विषयमा हालसम्म उनीहरुले खुलाउन सकेका छैनन्। आन्दोलनमा सक्रिय सहभागी भएका केही लगानीकर्ता त सम्पर्कविहीन नै बन्न पुगेका छन्।

पूँजीबजारमा निकै चासोका साथ हेरिएको यो आन्दोलन एकाएक स्थगित भएपछि बजारमा अहिले चर्को आलोचना हुन थालेको छ।

आन्दोलनको अगुवाइ गरेका दिपेन्द्र अग्रवालले आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै अर्थमन्त्रीले समय नदिनु र आन्दोलनमा लगानीकर्ताको सहभागिता पनि कम हुँदै गएका कारण आन्दोलन स्थगित गरिएको जानकारी गराएका छन्। उनै अग्रवालले हिजो फेसबुकमै अर्थमन्त्रीले बुधबार भेट्न समय दिएका र यो दिन १२ बजेभित्र आफ्ना माग सम्बोधन हुने हौवा पिटेका थिए । उनको अघिल्लो दिनको यो स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

उता, संघर्ष समितिका सहसंयोजक रोहन कार्कीले लगानीकर्ताका मागका विषयमा राष्ट्र बैंक र अर्थ मन्त्रालय सकारात्मक नै भए पनि अहिलेको राजनीतिक अवस्थाका कारण थप आन्दोलन गर्नुको कुनै औचित्य नभएको बताए। ‘त्यसैले हाललाई आन्दोलन स्थगित गर्यौँ’, उनले बिजशालासँग भने। 

त्यसो त सेयर लगानीकर्ताहरुको यो नै पहिलो आन्दोलन भने होइन, जुन यसरी तुहिने अवस्थामा पुग्यो । विभिन्न समय विभिन्न माग राखेर आन्दोलन भए पनि निष्कर्षमा पुग्न नसकेका धेरै उदाहरण छन्। 

यसअघि लगानीकर्ता तिलक कोइरालालगायतको समूहले पनि आन्दोलन गरेको थियो । कोइराला समूहले नेप्सेमा नै ५८ बुँदे माग राखेर सुरु गरेको आमरण अनसन पनि विनानिश्कर्ष टुंगिएको थियो। 

हालै क्लब हाउसमा बोल्दै कोइरालाले आफ्ना ५८ बुँदामा एउटा पनि माग हालसम्म पूरा नभएका कारण पुनः आन्दोलनमा बस्ने चेतावनी समेत दिएका थिए। 

सक्रिय लगानीकर्ता टेकेन्द्र क्षेत्री सेयर बजार सुधारका विषयमा हुने आन्दोलनमा लगानीकर्ताहरु एकजुट नहुँदा कहिले पनि निष्कर्षमा नपुग्ने गरेको बताउँछन्। ‘साना तथा ठूला लगानीकर्ता भनेर विभाजन हुने भएकोले नियामक निकायले पनि विश्वास गर्दैनन्’, उनले भने, ‘पहिला त सबै लगानीकर्ता एउटै छाता संगठनभित्र आउनुपर्छ। तर यहाँ संगठन बन्नुभन्दा पहिले नै लगानीकर्ताहरु टुटफुट हुन्छन् र आफ्नो स्वार्थअनुसार बोल्ने भएकोले नियामक निकायले खेल्ने ठाउँ पाउँछ।’

लगानीकर्ता दिपेन्द्र आचार्यले दिपेन्द्र अग्रवालको फेसबुक पेजमा आलोचना गर्दै लेखेका छन्, ‘बरु आन्दोलन नगरेको भए बजार अहिलेसम्म सम्हालिसक्थ्यो।’ 

दिपेन्द्र अग्रवालकै स्ट्याटसमा जबाफ दिँदै अर्का लगानी तुलसीप्रसाद शर्माले लेखेका छन्, ‘तपाइँहरुको आन्दोलन हात्ती आयो, हात्ती आयो, फुस्स।’
यता, पुँजीबजार सुधार संघर्ष समितिकै एक सदस्य उमेशराज सिलवालले भने आन्दोलन नतुहिएको र दिपेन्द्र अग्रवालले फैलाएको हौवाको पछि नलाग्न लगानीकर्तालाई आह्वान गरेका छन् । 

आफूहरुले बुधबार पनि अर्थमन्त्रालयमा गएर अर्थमन्त्रीका सल्लाहकार सुरेन्द्र उप्रेतीसँग छलफल गरेको र उनले लगानीकर्ताले प्रस्तुत गरेका मागहरुलाई क्रमशः सम्बोधन गरिने आश्वासन दिएका बताए । ‘आज हामीले १८ वटा बुँदाको विषयमा कुरा राख्यौं, आर्थिक सल्लाहकार निकै सकारात्मक हुनुहुन्छ ।’ सिलवालले भने–‘हामीले २० मिनेट जति भेट गर्यौं । उहाँले केही दिनपछि अर्थमन्त्रीसँग भेट गराउने वचन समेत दिनुभएको छ ।’ 

उनले अर्थमन्त्रीसँगै भेट गर्ने कुरा भए पनि प्राविधिक कारणले बुधबार संभव नभएको दाबी समेत गरे । 

सिलवालले संघर्ष समितिका संयोजक ढकाल, रोहन कार्की लगायतको विषयमा सोध्दा उनीहरु कार्यव्यस्तताका कारण अर्थमन्त्रालयमा पुग्न नसकेका दाबी गरे । आफू र आदित्य शिवाकोटी मात्र अर्थमन्त्रालय गएको समेत उनले खुलाए ।  

‘रामकृष्ण ढकाल व्यस्त भएका कारण संयोजकको रुपमा रोहन कार्कीले आन्दोलनको कमान सम्हालिरहनुभएको थियो । उहाँ पनि कार्यव्यस्तताका कारण अर्थमन्त्रालय पुग्न पाउनुभएन । शिवाकोटी जी र म मात्र पुगेका थियौं ।’–सिलवालले भने । 

उनले संघर्ष समितिमा रहेका ठूला लगानीकर्ता र उनीहरुको अजेण्डा बोक्ने केही बाहिरिए पनि आफूहरुले साना लगानीकर्ताको हितको विषयमा राखेका मागहरु नछाड्ने दाबी गर्दै भने–‘अब हामीलाई साना लगानीकर्ताको सहयोग चाहिएको छ । साना लगानीकर्तालाई आफ्नो हित संरक्षणका लागि आन्दोलनमा हामीलाई साथ दिन पनि तपाईहरुमार्फत आह्वान गर्छौ ।’