काठमाण्डौ । लगानीकर्ताहरुको भावनालाई खेलाडीहरुले कैद गरी हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा चलखेल गर्दै कृत्रिम माग र मूल्य बढाइएको खुलासासँगै यो साता हाइड्रोमा पहिरो गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डका कतिपय अधिकारीहरु नै पछिल्लो समय हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा चलखेल भएको बताउँछन् । जानाजान लगानीकर्ताहरुले नै नकारात्मक इपीएस र नेटवर्थ भएका कम्पनीहरुमा अस्वभाविक मूल्य हाली सेयर खरिद गरिरहेको दाबी गरेका ती अधिकारीहरु हाइड्रोमा आधारभूत तथ्य अध्ययन नगरी आफैं लगानी गर्छन् भने स्वयम् लगानीकर्ताहरुकै लगानी जोखिममा पर्ने जिकिर गर्छन् ।

केही साताअघि हाइड्रोपावर समूहमा बहार आएकोमा हाइड्रोपावरको सेयरमूल्यमा चलखेल खुलेपछि बिक्रीको ओइरो लागेको छ, जसका कारण अत्यधिक बिक्रीचापले हाइड्रोपावरका सेयरमूल्यमा भारी गिरावट आएको छ ।

अघिल्लो साता हाइड्रोपावर कम्पनीहरुको सेयरमूल्य जसरी उकालो यात्रामा रहेको थियो, त्यसैगरी यो साता हाइड्रोपावरका सेयरमूल्यमा पहिरो गएको छ । खराब अवस्था भएका र हकप्रदको जालो फिजाउँदै हाइड्रोपावरका सेयर कृत्रिम रुपमा चलखेल गर्र्दै बढाई उच्च मूल्यमा बिक्रीको आपूर्ति बढेकाले समेत ती सेयरहरुको मूल्यमा पहिरो गएको विश्लेषकहरुको भनाइ छ ।

नेप्सेमा सूचीकृत ३३ हाइड्रोपावर कम्पनीमध्ये यो साता माउन्टेन हाइड्रो बाहेक सबै कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । लगानीकर्ताहरुले हाइड्रो कम्पनीका सेयरमूल्यमा १२ प्रतिशतभन्दा बढी गुमाएका यो साता औसतमा ६ प्रतिशतभन्दा बढी सेयरमूल्यमा गिरावट आयो भने हाइड्रो कम्पनीको ओरालो यात्रामा औसत. प्रतिकित्ता ११ रुपैयाँभन्दा बढी गुमाए ।

हाइड्रोपावर कम्पनीहरु मध्ये पनि लाभांश र सेयरमूल्य जस्टिफाइ गर्ने कम्पनीहरुको हकमा भने गिरावट सामान्य मात्रै रहेको छ भने कमसल कम्पनी र कमजोर कम्पनीका सेयरमूल्यमा भने भारी गिरावट आएको छ ।