काठमाण्डौ । सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आइडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बुट क्याम्प सुरु भएको छ।

किङ्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आईसीटीले यसअघि सातै प्रदेशमा आयोजना गरेको स्टार्टअप एन्ड आइडिया फेस्टमा उत्कृष्ट घोषणा गरिएका स्टार्टअप तथा आइडियाका लागि बुटक्याम्प सुरु गरेको हो। 

मंगलबार १० बजेदेखि सुरु भएको कार्यक्रममा ४० बढी स्टार्टअप तथा इन्नोभेटरहरुको सहभागिता रहेको छ। कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ।

उद्घाटनका क्रममा किङ्स कलेजका प्रसिडेन्ट नरोत्तम अर्यालले कलेजका लागि यो सुवर्ण अवसर भएको र आगामी दिनमा स्टार्टअप इकोसिस्टम विकासमा सहयोग पुर्याउने बताए। 

त्यस्तै इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को प्रि–इभेन्टका रुपमा यसै सातादेखि विभिन्न कार्यक्रमहरु सुरु भएका छन्। बुटक्याम्पसँगै कात्तिक १८ र १९ गते बानेश्वर बैंक्वटमा यार्सा ल्याब स्टार्टअप एन्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुँदैछ। यस फेस्टमा देशभरका १०० बढी स्टार्टअप र इन्नोभेसनहरुको विशेष प्रदर्शनी हुनेछ।

फेस्टमा स्टिम क्याम्प पनि सञ्चालन हुनेछ। उक्त कार्यक्रमका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन्। २ दिनसम्म चल्ने फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। 

यसैगरी बुधबार अर्थात आज आईसीटी अवार्डका ३ विधा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारका उत्कृष्ट १२ प्रतिस्प्रर्धीहरुको लागि नेपाल आन्टरप्रेनर्स हबको सहकार्यमा मेन्टरिङ तथा ओरियन्टेशन कार्यक्रम सुरु हुँदैछ।

टेन्जेन्ट वेवका संस्थापक सुमन शाक्य, रोस्टर लोजिकका सिइयो बिजेन जोशी, इनोभेट नेपाल ग्रुपका निर्देशक रवि फुँयाल र हाम्रो पात्रोका सीईओ शंकर उप्रेतीले ३६ बढी स्टार्टअप, प्रडक्ट र विद्यार्थीका आइडियालाई मेन्टरसिप उपलब्ध गराउने छन्। बुधबार दिउँसो २ बजेदेखि मेन्टरिङ तथा ओरियन्टेसन सेसन सुरु हुनेछ। 

आईसीटी अवार्डको छनौटका लागि कात्तिक २६ गते प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसन पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। अवार्डको ग्रान्ड फिनाले पुस ८ गते हुनेछ।