काठमाण्डौ । विगत डेढ दशकदेखि मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रममार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिलाई प्राथमिकतामा राखी घर–घरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ। 

यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिँध्ने, प्याकिङ गर्ने, कफीजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने, आयातसम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जीविकोपार्जनमा कठिन भएका व्यक्तिलाई कफी व्यवसायसम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको कठमाण्डौको पुतलीसडकस्थित कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच एक कार्यक्रममाझ कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिलाई व्यावसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

कफी सोलुसनले कफीसम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनौट गरी आवश्यक तालिमहरु दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ भने कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागतबराबरको रकम व्यवसायीलाई बिनाधितो ऋणस्वरुप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ। 

ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ। 

यो कार्यबाट साना वर्गका व्यवसायीहरुको दैनिक जीविकोपार्जन हुनुका साथै स्वरोजगार सिर्जनामा सहयोग पुग्ने र भविष्यमा ठूला व्यवसायीका रुपमा रुपान्तरित भई उद्यमशीलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले लिएका छन्। 

यस्तै कफी सोलुसनका निर्देशक हरि रायमाझीले मुक्तिनाथ विकास बैंकले न्यून आय भएका वर्गका व्यक्तिलाई प्राथमिकता दिई आयआर्जन वृद्धि गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेकोप्रति खुसी व्यक्त गरे। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।