काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा आर्जन गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा ६.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले ६९ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६५ करोड ५० लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी यो अवधिमा १३.८७ प्रतिशतले बढेको छ। गत वर्ष ७९ करोड ५० लाख खुद ब्याज आम्दानी गरेकोमा यो वर्ष बढेर ९० करोड ५३ लाख रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा संस्थाले २० अर्ब ९ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १९ अर्ब ७९ करोड रुपैयाँ सापटी लिई २२ अर्ब १२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

१ अर्ब २५ करोड रुपैयाँ बढी चुक्तापुँजी रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४९.५७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३५.३८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७४.१९ रुपैयाँ रहेको छ।