काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि बोनस सेयर प्रस्ताव गरेका तीनवटा लघुवित्तका सेयरमूल्य सोमबार समायोजन गरेको छ ।

नेप्सेले साना किसान विकास लघुवित्त, महुली लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार साना किसानको प्रतिकित्ता ७८४.२८ रुपैयाँ, महुलीको ७५०.८३ र सपोर्टको ५४७.२७ रुपैयाँ कायम गरिएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट साना किसानले २७.२५ प्रतिशत, महुलीले २० प्रतिशत र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेका छन् ।

साना किसानले यही पुस २६ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ ।

सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ७८ करोड ६० लाख ३४ हजार ९१२.११ रुपैयाँको कुल २८.६८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रस्तावित लाभांशमा २७.२५ प्रतिशतले हुन आउने २१ करोड ४१ लाख ९४ हजार ५१३.५५ रुपैयाँबराबरको बोनस सेयर र १.४३ प्रतिशतले हुन आउने १ करोड १२ लाख ७३ हजार ३९५.४५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

त्यस्तै महुली लघुवित्तले आफ्नो सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित आफ्नै केन्द्रीय कार्यालयमा गर्दैछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश पारित हुनेछ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८ लाख १० हजार ५८० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्टले यही पुस २९ गते सुनसरीको इटहरीस्थित होटल पाथीभरा इन्टरनेसनलमा पाँचौँ वार्षिक साधराणसभा गर्दैछ ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर पारित हुनेछ । संस्थाले चुक्ता चुँजी ६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०.५२ प्रतिशतले हुन आउने ३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।