– अनन्त्य सुन्दर

काठमाण्डौ । मौद्रिक नीतिमा व्यवस्था गरिएको सेयर धितो कर्जाको सीमाले अहिले बजार बहस र छलफलले तातेको छ। केही दिनदेखि नेप्से इन्डेक्सका साथै कम्पनीहरुको सेयरमूल्यमा पहिरो गइरहेको छ। 

राष्ट्र बैंकको सेयर धितो कर्जामा कडाइको निर्णयको पक्ष र विपक्षमा रहेर लगानीकर्ताबीच क्लब हाउस, फेसबुक, भाइबरलगायत विभिन्न सामाजिक सञ्जालमा चर्काचर्की चलेको छ। केही लगानीकर्ताको समूहले राष्ट्र बैंक घेराउ गरी धर्ना दिने कार्यक्रम पनि आयोजना गर्ने तयारी छन्। केही भने राष्ट्र बैंकले सही निर्णय गरेको भनी वकालत गर्दै छन्। राष्ट्र बैंकको धितो कर्जा कडाइबारे के भन्छन् त आमलगानीकर्ता ? 

सेयर बजारको सक्रिय लगानीकर्ता कृपा पराजुलीका अनुसार बजारमा फण्डामेन्टली कमजोर कम्पनीहरुमा हुने अनैतिक सेयर खरिद–बिक्री बन्द हुने बताउँछिन्। पराजुली भन्छिन्, ‘विगतमा खानीखोलाजस्तो कमजोर कम्पनीहरुको सेयरमूल्य बढाइ चलखेल हुन्थ्यो। अब राष्ट्र बैंकको उक्त निर्णयसँगै, त्यो बन्द हुन्छ। त्यसैले यसले हामी जस्तो साना लगानीकर्तालाई नै फाइदा हुन्छ।’ लाभांश दिने समय नजिकिएकाले अब लगानीकर्ताहरुको आकर्षण राम्रो लाभांश दिने कम्पनीहरुमा हुने उनको बुझाइ छ।

‘अहिले बजारमा धेरैजसो कम्पनीहरुको सेयर ठुला लगानीकर्ताहरुको हातमा छ। त्यसैले राष्ट्र बैंकको यस निर्णयले केही दिन बजारलाई असर गर्छ’, सेयर बजारका सक्रिय लगानीकर्ता सुनिल यादवले भने, ‘बजारका ठूला खेलाडीहरुले बैंकबाट लोन लिएर सेयर खरिद गरेका छन्। बैंकको ब्याज तिर्न भए पनि सेयर बेच्नुपर्ने हुन्छ। त्यसैले केही दिन बजार घट्ला।’

बजारका अर्का लगानीकर्ता दीपक दुलाल भन्छन्, ‘राष्ट्र बैंकको यो निर्णयले अहिले बजारको स्थिरतालाई असर गरे पनि दीर्घकालीन रुपमा भने असर गर्दैन।’ 

अहिले बजारमा साना लगानीकर्ताहरु संख्यामा मात्र हाबी छन्। तर राष्ट्र बैंकको १२ करोडको क्यापको निर्णयपश्चात् बजारमा साना लगानीकर्ता लगानीमा पनि हाबी हुने दुलालको बुझाइ छ।

बजारका अर्का लगानीकर्ता सिर्जन पोख्रेल भन्छन्, ‘१२ करोडको क्यापले दीर्घकालीन रुपमा बजारलाई असर गर्दैन। तर बजारमा दैनिक ठूलो रकमको कारोबार गर्ने नै ठूला लगानीकर्ताहरु भएकाले यसले केही दिन भने बजारलाई असर गर्ने देख्छु।’ 

अहिले केही दिनदेखि बजार घटेकाले साना लगानीकर्ताहरुमा डर र त्रासको वातावरण सिर्जना भएको छ। ‘तर मेरो विचारमा साना लगानीकर्ताका लागि १२ करोड भनेको पनि ठूलो रकम हो। त्यसैले राष्ट्र बैंकको यस निर्णयले ठूलालाई मात्र असर गर्ला’, उनले भने।

बजारका सक्रिय लगानीकर्ता विनोद भुर्तेल सेयर कर्जा सीमाको नयाँ व्यवस्थाले धेरै लगानीकर्ताले बैंकको कर्जा तिर्नका लागि सेयर बेच्नुपर्ने भएकाले बजारमा गिरावट आएको बताउँछन्। भुर्तेल भन्छन्, ‘सेयर धितो कर्जामा कडाइसँगै ठूला खेलाडीले चलखेल गर्न नपाउने भएकाले साना लगानीकर्ताहरुको लगानी जोखिम न्यूनीकरण हुन्छ।’ 

बजारका सक्रिय लगानीकर्ता सरोज ढकालका अनुसार अहिले नेपाली सेयर बजारको दैनिक कारोबारको आधाभन्दा बढी हिस्सा विदेशबाट हुन्छ। ‘त्यसैले राष्ट्र बैंकको यस निर्णयले अल्पकालीन केही असर गर्ला। तर दीर्घकालीन रुपमा बजार अहिले पनि बुलिस नै छ’ ढकाल भन्छन्, ‘लगानीकर्ताहरुले घट्दो बजारमा सेयर खरिद गरी आफूसँग भएको सेयर एभेरेजिङ गरी मौकाको फाइदा लिनुपर्छ।’